दुग्ध सहकारी क्षेत्रका मकवानपुरे हस्ती हुमागाईको निधन



हेटौंडा- मकवानपुर जिल्लामा रहि दुग्ध सहकारी क्षेत्रको नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका दुग्ध सहकारीका हस्ती बलराम हुमागाईको दु:खद निधन भएको छ ।

आफ्नै निवास हेटौंडा -५ चिसापानीमा सोमबार साँझ हुमागाईको ६४ वर्षको उमेरमा निधन भएको हो । फोक्सोको क्यान्सरबाट पिडित हुनुभएका हुमागाई भारतको नयाँदिल्लीमा रहेको राजिवगान्धी अस्पतालमा उपचाररत रहनुभएको थियो । डाक्टरको सल्लाहमा केहि दिन पहिला मात्र घर आउनु भएका हुमागाईको सोमबार निधन भएको हो ।

मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्डाँडा स्थायी घर भएका हुमागाई सपरिवार सहित केहि वर्ष देखी हेटौंडामा बसोबास गर्दै आउनु भएको थियो ।

तत्कालिन मकवानपुरगढी गाविस वडा नं ६ हालको मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा बि.सं. २०४२ सालमा स्थापना भएको मकवानपुर जिल्लाकै पहिलो दुग्ध उत्पादक सहकारी संस्थामा उहाँ स्थापना काल देखि नै ब्यवस्थापकको रुपमा करिब ३५ वर्ष अर्थात् २०७७ साल सम्म कार्य गर्नुभएको थियो ।

संस्था स्थापना भए सँगै स्थानीयको आर्थिक सुधारका लागि दुग्ध उत्पादनले समाज परिवर्तन गर्न सकिन्छ भन्ने उदेश्यका साथ उहाँले पशुपालन गर्न गाउँलेलाई उत्प्रेरणा जगाउने खालका विभिन्न कार्यक्रमहरु ल्याउनु भएको थियो । संस्थामा दुग्ध उत्पादन वृद्धि भएसँगै दुधलाई विविधीकरण गरि विभिन्न दुग्धजन्य दुग्ध पदार्थको उत्पादन गरि बिक्रि गर्दा अझै राम्रो हुने देखि उहाँकै पहलमा संस्थाले दुग्ध उद्योगको स्थापना गरेको थियो ।

हाल सो उद्योगबाट दैनिक करिव २ हजार देखि २५ सय लिटरको दुग्धजन्य पदार्थ नौनी , घ्यु, दहि, मोहि, छुर्पी लगायतका समाग्री उत्पादन गरिरहेको छ । संस्थामा हाल दैनिक करिब ७ हजार लिटर दुग्ध संकलन भैरहेको संस्थाले जनाएको छ ।

दुग्ध सहकारीमा काम गर्ने कर्मचारीहरुको हक हित लगायत आर्थिक उपार्जन तथा भविस्यका लागि बचत गर्ने उदेश्यले दुग्ध सहकारी संस्थामा काम गर्ने कर्मचारीहरुमात्र त्यसको सदस्य हुन पाउने गरी हुमागाई लगायत जिल्ला दुग्ध सहकारी संघका तत्कालीन ब्यवस्थापक कुमारमणी दहाल, बिदुर हुमागाई, बलराम घिमिरे, गोविन्द दहाल, झलक पुडासैनी, लक्ष्मण सापकोटा, मन्दिरा ढकाल, अर्जुन तिमल्सिना लगायतकाको पहलमा दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको २०६९ सालमा स्थापना भएको थियो । सो संस्थामा हाल एकसय जना भन्दा धेरै सदस्य बनेका छन् । उहाँ हाल त्यस संस्थाको सल्लाहकार समेत रहनुभएको थियो ।

सहकारी क्षेत्र मात्र हैन उहाँ बामपन्थी विचारधाराका ब्यक्ति हुनुहुन्थ्यो । उहाँकै पहलमा मकवानपुरगढीमा नेकपा एमालेको संगठन स्थापना भएको थियो । नेतृत्वमा बस्न लालाहित नहुने उहाँ पछिल्लो समयमा भने नेकपा एमाले मकवानपुरको सल्लाहकार संयोजक रहनुभएको थियो ।

स्वर्गीय हुमागाईका परिवारमा आमा, श्रीमतीका साथै सन्तानका रुपमा दुई छोरा र एक छोरी रहेका छन् ।

विचार र ब्यवहारले उहाँलाई सिंगो समाज कै अभिभावक मान्ने गरेको स्थानीयले बताएका छन् । हुमागाईको निधनले मकवानपुरगढी मात्र नभै सिंगो मकवानपुरले नै एउटा असल अभिभावक गुमाएको मसशुस गराएको छ ।

मुख्य समाचार विचार समाचार समाज