हेटौंडा –१ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापियो

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष तथा प्रवक्ता सविन न्यौपानेमाथि बुधबार दिउँसो कार्यकक्षमै कालो मोबिल छ्यापिएको छ ।
दिउँसो ३:५० बजेतिर भएको यो आक्रमण सार्वजनिक जग्गा संरक्षणसँग सम्बन्धित विवादकै कारण भएको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नम्बर नखुलेका दुईवटा मोटरसाइकलमा आएका ३ देखि ४ जना अपरिचित व्यक्तिहरुले वडा कार्यालयको कार्यकक्षभित्रै प्रवेश गरी अध्यक्ष न्यौपानेमाथि कालो मोबिल छ्यापेर फरार भएका छ्न ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार अध्यक्ष न्यौपानेको टाउको, कपडा र शरीरमा मोबिल परेको छ। भूमिहिन सुकुम्बासी विवादसँग जोडिएको आशंका गरिएको छ । प्रहरीले घटनास्थलबाट “भूमिहिन सुकुम्बासी” भनेर लेखिएको खाली रेकर्ड फाइलसमेत बरामद गरेको छ। हेटौंडा अस्पताल पछाडिको सार्वजनिक जमिनमा अनधिकृत रूपमा घर टहरा निर्माण गर्न खोजिएको भन्ने सूचनाका आधारमा उपमहानगरपालिकाले हटाउने अभियान अघि बढाएको थियो ।
उपमहानगर कार्यपालिकाको निर्णय तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र मुलुकी देवानी संहिताको पालना गर्दै सार्वजनिक जग्गा संरक्षणमा लागेको वेला अध्यक्ष न्यौपानेमाथि यस्तो आक्रमण भएको हो।
प्रहरीका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सिसिटिभी फुटेज विश्लेषण गर्दै फरार आक्रमणकारीहरुको पहिचान र खोजी कार्य अघि बढाएको जनाएको छ। स्थानीय तहले कानुनी प्रक्रिया अनुसार काम गर्दा समेत जनप्रतिनिधिमाथि हमला हुनु, कानुनी शासनमाथि प्रत्यक्ष चुनौतीका रूपमा देखिएको छ ।
मुख्य समाचार समाचार