बागमती प्रदेशमा कोरोना खोप अभियान शुरु, मुख्यमन्त्रीद्वारा अभियानको शुरुआत

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको शुभारम्भ गरिएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठलाई खोप हस्तान्त्रण गर्दै प्रदेशका १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो।
कोरोना विरुद्धको पहिलो खोप हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रविण श्रेष्ठले लगाउनु भएको छ ।


कार्यक्रममा मुख्यमन्त्री पौडेलले सरकारले विश्वका अन्य धेरै मुलुकभन्दा पहिले नेपालमा भ्याक्सिन ल्याएर जनताको स्वास्थ्यमा चासो राखी कार्य गरिरहेको जानकारी दिनुभयो ।
सरकारको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरेको उहाले बताउनु भयो ।

प्रदेशका १३ जिल्लाका लागि ३५ केन्द्रबाट कोरोना भाइरसविरुद्धको खोप लगाइने प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईँले जानकारी दिए । खोप लगाउँदा खोप कार्ड दिने र ३ समूहमा विभाजन गरेर खोप दिने उहाले बताउनु भयो ।


पहिलो समूहमा फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने छ । यस्तै दोस्रो समूहमा ४० वर्षभन्दा माथि रोग लागेको समूह र तेस्रो समूहमा जोखिममा रहेका १८ वर्षभन्दा माथिका युवालाई खोप दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्वास्थ्य