माओवादी केन्द्र खेमाले ओलीको साथ नछाड्ने, एमालेमा नयाँ जिम्मेवारी दिने तयारी



काठमाडौं / सर्वोच्च अदालतको फैसलासँगै नेकपाबाट माओवादी केन्द्रका नेतामा परिणत भएका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने घोषणा गर्नुभएको छ ।

माओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूले ओलीको साथ नछाड्ने घोषणा गर्नुभएको हो ।

उहाहरुले पदका लागि ओलीलाई साथ नदिएको भन्दै देश बनाउने सहि विचार, सिद्धान्त र कम्युनिष्ट आन्दोलन लागि साथमा उभिएको बताउनु भयो । सर्वोच्च अदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले एमालेका केही नेतासहित उहाहरुसँग सामुहिक छलफल गर्नुभएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले पहिला उहाँहरुको विचार सुन्नु भएको थियो । सबै नेताहरुले अब एमालेमै रहने घोषणा गर्नुभएको थियो ।

एमालेमै रहने भएपछि अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले पार्टीभित्र नयाँ जिम्मेवारी दिने बताउनु भएको एकनेताले जानकारी दिनुभयो । सबैजनाले आफूहरू मन्त्री पदका लागि ओली पक्षमा नलागेको भन्दै विचार, सिद्धान्त र कम्युनिष्‍ट आन्दोलन अघि बढाउने सवाल भएकाले प्रचण्डसँग जान नसकिने बताएको स्रोतले नेपाल प्रेसलाई जानकारी दियो ।

नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् । संकटको बेला केपी ओलीको पक्षमा उभिएका कोही पनि नेता कार्यकर्ताले अब नेकपा माओवादी केन्द्र नरोज्ने केन्द्रीय सदस्य निरु दर्लामीले बताउनु भयो । (जनता टाइम्सबाट )

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार