नेपाल सहित चार जनालाई स्पष्टीकरण माग

तस्वीर : कान्तिपुर दैनिकबाट

काठमाडौँ — वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । चारै जना नेतालाई सोमबार स्पष्टीकरणको पत्र पठाइएको हो।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेताहरुलाई पठाइएको हो । वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले पत्र बुझे पनि उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने बुझिसकेका छैनन् । वरिष्ठ नेता नेपालको पत्र उनकै स्वकीय सचिव नितेज पौडेल र स्थायी कमिटी सदस्य पाण्डेलाई पठाइएको पत्र स्वकीय सचिव सञ्जीव पाण्डेले बुझेका हुन् ।

पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय भएको जनाइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति