अन्तर शहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा सुरु, बिजेताले २ लाख ५० हजार प्राप्त गर्ने

हेटौंडा /  मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको आयोजनामा  बुधबारदेखि अन्तर शहर बुद्धिचाल  प्रतियोगिता हेटौंडामा सुरु भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले चेसको गोटी चालेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले
खेलकुद क्षेत्रलाई प्रदेश सरकारले अत्यन्त चासोका साथ हेरेको भन्दै खेलकुदको विकास, बिस्तार एवं संचालनमा सरकारको पुर्णसाथ रहने बताउनुभयो । बागमती प्रदेश सरकारले खेल क्षेत्रको बिकासका लागि प्रदेश स्तरीय खेलकुद विकास परिषद गठन गरेको बताउनुहुदै मुख्यमन्त्री पौडेलले २०७८ सालको जेठ महिनामा  प्रदेशस्तरीय खेलकुद प्रतियोगिता  सञ्चालन गर्ने तयारी प्रदेश सरकारले गरिरहेको  जानकारी दिनुभयो ।

कार्यक्रममा बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठले चेस प्रतियोगितालाई घरभित्रै बसेर मात्र खेल्न सकिन्छ भनेर नबुझ्न आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महत, नेपाल बुद्धिचाल संघका सचीब धरम लामा,  बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिब सुर्यलाल भण्डारी, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, जिल्ला खेलकुद बिकास समिती मकवानपुरका अध्यक्ष सानु लामा, नगर खेलकुद बिकास समिती हेटौंडाका अध्यक्ष चन्द्र शाही, हेटौंडा लेडि जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठ, राष्ट्रिय युवा संघका अध्यक्ष लक्ष्मण उप्रेती, युवा नेता समिम खान, प्रेस चौतारी बागमती प्रदेसका सह संयोजक प्रकाश दाहाल लगायतकाको उपस्थिति रहेको थियो ।

यहि चैत १४ गते सम्म हुने प्रतियोगितामा देशभरका १८ वटा टिमले भाग लिएका छन् ।  प्रतियोगिता टीम च्याम्पियनसिप हाल सम्मकै ठुलो भएको हेटौंडा चेस क्लबका महासचिव कृष्ण लामिछानेले जानकारी दिनुभयो  । स्विस लिग अनुसार ७ चरणमा हुने खेलमा १८ टीमले प्रतिस्पर्धा गर्ने र टीममा ४ जना नियमित खेलाडी, १ जना बैकल्पिक र एक जना व्यबस्थापक गरि ६ जना सहभागी हुने मकवानपुर जिल्ला बुद्धिचाल संघका सचिव नरेन्द्र भण्डारीले बताउनुभयो ।

प्रतियोगिताको बिजेताले २ लाख ५० हजार, उपबिजेताले १ लाख ५० हजार, तेस्रो, चौथो र पाँचौले क्रमशः ५० हजार,३० हजार र २० हजार प्राप्त गर्नेछन् भने बोर्डका उत्कृष्ट खेलाडीले जनही १० हजार पाउने हेटौंडा चेस क्लबका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले बताउनुभयो । टोलीमा महिला र १६ बर्ष मुनिको खेलाडी अनिवार्य हुनुपर्ने आयोजकले बाध्यकारी नियम बनाएको छ ।

खेलकुद प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार