बागमतीमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीकाे निर्णय

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार काठमाडौं बसेको माओवादी केन्द्र बागमती प्रदेशको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सभामा विपक्षमा बस्ने निर्णय गरेको हो ।

बैठकले गत पुस १० गते बागमती प्रदेशसभा सचिवालयमा तत्कालीन नेकपाका ४५ जना सदस्यहरुको हस्ताक्षरसहित दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने समेत निर्णय गरेको श्रोतले बताएको छ । साथै बैठकले प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल र  उप–नेतामा कुमारी मोक्तान चयन गरेको छ ।

एमालेले कर्णाली प्रदेशमा माओवादीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै वागमती प्रदेशमा माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको बुझिएको छ ।
प्रदेशसभामा कुल ११० जना सदस्यमध्ये माओवादी केन्द्रका २३ जना सांसद  रहेका भने नेपाली काँग्रेसको २२,  ​विवेकशील साझाको ३, नेमकिपाको २, राप्रपाको २ र स्वतन्त्र सदस्य १ जना रहेका छन् । 
प्रदेश सभामा सरकार चलाउन पर्याप्त नेकपा एमालेसङ्ग ५७ जना सांसद रहेको छ ।  माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि एमालेसङ्ग बहुमत रहेकोले सरकारलाई कुनै पर्ने देखिदैन ।



प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार