नयाँ सरकार गठनका लागि समयसिमा आज सकिँदै, सम्भावना भने न्युन

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) सकिँदै छ ।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि २७ गते राति नौ बजे राष्ट्रपति भण्डारीले दलहरुलाई बहुमतको सरकार गठनको लागि तीन दिनको समय दिएकी थिइन्।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्र नयाँ सरकार गठनका लागि जुटे पनि जनता समाजवादी पार्टीमा यादव-भट्टराई र ठाकुर-महतो पक्ष बिच अन्तरिक विवाद हुँदा सहमति बन्न सकेको छैन।

गठबन्धन दलहरुबीच आन्तरिक सहमति बन्न नसक्दा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा सकिने सम्भावना बढ्दै गएको छ। संविधानको धारा ७६(२)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको समर्थनमा संयुक्त सरकार गठन गर्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार कांग्रेस, माओवादी र जसपासहितको दलको समर्थनमा नयाँ सरकारको दाबी गर्ने सम्भावना भने कायमै रहे पनि आज बेलुकासम्म कुनै सहमति हुन नसकेमा संविधानको धारा ७६(३) बमोजिम ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्रीमा पुनः ओली नै नियुक्त हुनेछन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति