असार १७ गतेदेखि आन्तरिक उडान खुला

हेटौंडा । सरकारले अगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्नका लागि नेपाल नागरिक उडड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो । साविकको तुलनामा ५० प्रतिशत मात्र हुने गरि उडान गरिनेछ । सो को व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

मन्त्रिपरिषद्को निर्णयपछि विमानस्थल र वायुसेवा कम्पनीले गर्ने टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय समेत राखेर एक सातापछिबाट उडान शुरु गर्न लागिएको हो । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् । विमान कम्पनीहरूले सत प्रतिशत अकुपेन्सीमा यात्रु उडाउन पाउने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताउनुभयो । अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा भोलीबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसअनुसार भोली नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।


नेपाल वायुसेवा निगमले जुन २७ र २९ मा पनी दोहा उडान गर्नैछ । यस्तै, निगमले २५ जुनमा जापान, २८ र ३० जुनमा दुबई उडान गर्नेछ । मन्त्रालयले हिमालय एयरलाइन्सलाई दुबई, क्वालालम्पुर, दमामका लागि उडान संचालन गर्न अनुमती दिएको छ । विदेशी एयरलाइन्सतर्फ कतार एयरवेज, टर्किस, जजिरा, फ्लाइ दुबई, सलाम र एयर अरेवियालाई पनि उडान अनुमती दिईएको छ । एयर इन्डियाले जुन २५ मा भारतमा उडान गर्ने छ । यसैबीच, सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा महँगो भाडा तिरेका यात्रुलाई त्यसको प्रमाणका रुपमा टिकट उपलब्ध गराइदिन आग्रह गरेको छ ।

मुख्य समाचार