बाढीले मकवानपुरगढीका २ वटा पुल क्षतीग्रस्त

मकवानपुर – मेघगर्जन सहित अविरल परेको पानीका कारण खोलामा बाढी आउँदा मकवानपुरगढीका २ वटा पुल क्षतीग्रस्त भएका छन् ।

विगत ४ वर्ष पहिले निर्माण सम्पन्न भएको वडा नम्बर ५ को ज्यामिरे खोलामा रहेको मोटरसाइकल समेत चलाउन मिल्ने फलामे पुल बिहिवार राति परेको वर्षातका कारण ज्यामिरे खोलामा आएको बाढीले पुलको एकातर्फको भाग खोलामा भासिएको छ । सो खोलामा नयाँ पक्किपुल निर्माण भैसकेकोले आवतजावतमा खासै समस्या नभए पनि पुल बगाउँदा लाखौंको क्षती भएको छ ।

यता बिगत ५ वर्ष पहिले देखि निर्माण शुरु गरिएको वडा नम्बर ३ र ५ जोड्ने सामरी खोलामा निर्माण भैरहेको पुललाई पनि सोही दिन आएको बाढीले क्षती पुर्याएको छ । पुल निर्माणका क्रममा पिल्लरहरु निर्माण सम्पन्न भैसकेको र एक स्पान ढलानको लागि तयार गरिएको सामाग्री खोलाले बगाएको हो । खोलामा माटोको सतह उठाई ढलानका लागि रड फर्मा सहित तयार गरिएको थियो ।

उसै त ठेकेदारका कारण पुल निर्माणले सुस्त गति लिइरहेका बेला भएको क्षतीका कारण निर्माण कार्य थप ढिलाइ हुने निश्चित जस्तै देखिएको छ । पुल निर्माण नहुँदा यहाँका बासिन्दा खोलाबाटै ओहोरदोहोर गर्न बाध्य हुनुपरेकोले वर्षेनि कयौंले ज्यान गुमाई रहेका छन् ।

अर्थ मुख्य समाचार