प्राकृतिक प्रकोपले क्षति पुर्‍याएका निजी आवास सरकारले बनाइदिने

हैटौंडा । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताउनु भएको छ ।

विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने उपप्रधान तथा गृहमन्त्री पौडेलले बताउनु भयो । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको बताउनु भयो । यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको उहाँले बताउनु भयो । गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३ हजार ९४९ परिवारलाई प्रति परिवार पहिलो किस्ता वापत ५० हजार अनुदान रकम प्रदान गरिएको उहाँले बताउनु भयो ।

यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिनुभयो ।

मुख्य समाचार