सहकारीको दुग्ध उद्योगको निर्माण तिब्र गतिमा, आवश्यक मेशिन उपकरणहरु ल्याईंदै

मकवानपुर- सहकारीका तर्फबाट पहिलो पटक मकवानपुरमा संचालन गर्न लागेको दुग्ध उद्योगको निर्माण कार्य अहिले तिब्र गतिमा भइरहेको छ ।

बागमती प्रदेश सरकारको साझेदारीमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले भीमफेदी गाउँपालिका वडा नम्बर १ बुङ्दलमा निर्माण गरिरहेको दुग्ध उद्योग परियोजनाको लागि भवनको मर्मत कार्य अन्तिम चरणमा रहेको छ ।

अहिले उद्योगमा प्रयोग हुने मेशिन तथा उपकरणहरु ल्याउने काम भइरहेको छ । प्रदेश सरकारको रु. ७५ लाख र संस्थाको तर्फबाट रु. ७५ लाख गरि जम्मा १ करोड ५० लाखको लगानीमा उद्योग निर्माणको काम भइरहेको र आगामी दशैं-तिहार सम्ममा परिकार उत्पादन गरि बजारमा ल्याउने लक्ष्य राखीएको संघका ब्यवस्थापक कुमारमणी दाहालले बताउनुभयो ।

मकवानपुरका किसानहरु पशुपालन तर्फ आकर्षण भइरहेका बेला कोरोनाका कारण दुध बिक्रीमा समस्या पैदा भई किसानलाई आर्थिक नोक्सानी भइरहेका बेला उद्योग निर्माण पश्चात् मिल्क होलिडे नहुने भन्दै त्यसले किसानलाई ठुलो राहत पुग्ने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो ।

मकवानपुरमा सहकारी मार्फत उत्पादन भइरहेको दूध मकवानपुर लगाएत काठमाण्डौं, पोखराका उद्योगहरुमा गइरहेका बेला मकवानपुरमा नै सहकारीको दुध विविधीकरण उद्योग स्थापनाका लागि प्रदेश सरकार समक्ष सिफारिस गरिएको केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष तथा प्रदेश सहकारी विकास बोर्डका नवनियुक्त कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनु भयो । साथै उद्योगको परिकार उत्पादनमा क्षमता वृद्धिका आगामी वर्ष पनि आवश्यक पहल हुने देवकोटाले बताउनु भएको छ ।

सहकारीका तथ्यांक अनुसार मकवानपुरमा सहकारी मार्फत प्रतिदिन लगभग ५० हजार लि.भन्दा धेरै दूध संकलन हुने गरेको छ ।

मुख्य समाचार विज्ञान प्रविधि सहकारी