विघटित कार्यदलको टोली एमाले अध्यक्ष ओलीको निवासमा

काठमाडौँ । नेकपा एमालेको विघटित कार्यदलका सदस्यहरूले पार्टी एकताका लागि छलफललाई तीव्रता दिएका छन्।

शनिबार बिहान बैठक बसेर पार्टी एक बनाउन सक्दो कोसिस गर्ने निर्णय गरेका उनीहरू अहिले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन्।

अध्यक्ष ओली भेट्न विघटित कार्यदलका सदस्यहरू साँझ ६ बजे ओली निवास (बालकोट) पुगेका हुन्। भेटवार्तामा विष्णु रिमाल र रघुजी पन्तबाहेक विघटित कार्यदलका सबै सदस्य सहभागी छन्।

बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकमा पार्टी एकताका लागि पार्टी पंक्तिले १० बुँदे सहमतिको अक्षरशः पालना गर्नुपर्ने शीर्ष नेताहरू पनि सहमतिमा आउनुपर्ने निष्कर्ष निस्किएको थियो।

बैठकमा उनीहरूले सहमति कार्यान्वयन गरेर अघि बढ्न अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई पालैपालो आग्रह गर्ने निर्णय गरेका थिए।

त्यहीबमोजिम कार्यदलका सदस्यहरूले अहिले ओलीलाई भेटेको र भोलि आइतबार बिहान नेता नेपालसँग छलफल गर्ने कार्यदलका एक सदस्यले बताए।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका विपक्षमा मत हाल्ने निर्णय गर्दै यदि कसैले पक्षमा भोट दिन्छ भने उक्त भोट सांसद स्वयंमको हुने निर्णय गरेको थियो। एमालेले स्थायी कमिटी बैठक आइतबार पनि राख्दै छ। तर नेपाल समूहका नेताहरूले उक्त बैठकमा उपस्थित हुने नुहने टुंगो भने लगाइसकेका छैनन्।

मुख्य समाचार राजनीति समाचार