मकवानपुरमा २ हजार ६ सय अपराधी जेलबाहिरै

हेटौंडा । मकवानपुरमा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका २ हजार ६ सय अपराधी जेलबाहिरै रहेको पाइएको छ ।

मकवानपुर जिल्ला अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको तर फरार भएका स्वदेशी एवं विदेशी गरी २ हजार ६०९ जना रहेको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । जिल्ला अदालतका अनुसार फरार सूचीमा रहेकामध्ये ६० जना विदेशी नागरिक छन् । मकवानपुर जिल्ला अदालतले दोषी ठहर गरेको तर फरार व्यक्तिहरुको नामसहितको पत्र प्रहरी कार्यालयमा पठाएको छ ।

उनीहरुको कैद एवं जरिवाना असुल गर्न÷गराउन पक्राउ गरेर अदालतमा हाजिर गराउने र त्यस्ता व्यक्ति फरार भएमा सरकारी निकाय एंव पालिकाहरुबाट सेवा सुविधा रोक्का गर्न तथा निलम्बन गराउन अदालतले परिपत्र गरेको छ । परिपत्रको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पालिकाहरुलाई पत्र लेखेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आव २०७७ ७८ को साउनदेखि असारसम्म अदालतले दोषी ठहर गरेका तर फरार १५६ जनालाई पक्राउ गरेर कैद र जरिवाना भुक्तानीका लागि अदालतमा उपस्थित गराएको उनले बताए ।

मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकाले लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेका चार जनाको सेवा सुविधा रोकेको छ । फरार अभियुक्तहरुलाई पालिकाहरुले उपलब्ध गराउँदै आएको सेवा सुविधा रोक्का गर्न अदालतले गरेको परिपत्रको आधारमा उनीहरुको सुविधा रोकिएको राक्सिराङ गाउँपालिकाले जनाएको छ । आदेश अनुसारको दण्ड जरिवाना संकलन नहुँदा अदालतको बक्यौता २६ करोड एक लाख ८० हजार रुपैयाँ पुगेको भट्टराईले जानकारी दिए । यस्तै अदालतवाट दण्डवापत कैद बस्नुपर्ने व्यक्ति कैदमा नबस्दा अदालतको लगत वर्षेनी बढ्दै हाल ३ हजार ५५४ वर्ष ५ महिना २१ दिन पुगेको छ ।

मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासीन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन् ।

मुख्य समाचार समाचार