दुग्ध उद्योगमा सफलता प्राप्त गर्दै “डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था”

गोविन्द शर्मा तिमल्सिना/ बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानामा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले संचालन गरेको दुग्ध प्रशोधन तथा विविधीकरण उद्योग सफलता प्राप्ति तर्फ उन्मुख रहेको छ ।

करिब २ हजार ४ सय किसान आवद्ध रहेको संस्थाले विभिन्न १४ संकलन केन्द्रबाट सिजन अनुसार दैनिक १० देखि १३ हजार लिटरसम्म गाई भैसीको संकलन भएको दुध आफ्नै प्रशोधन तथा विविधीकरण उद्योगबाट विभिन्न परिकार उत्पादन गरि उपभोक्ता सामु पुर्याइरहेको छ ।

७-८ वर्ष पहिला देखि नै सानो क्षमताको दुग्ध उद्योग संचालन गरिरहेकोमा हाल उद्योगलाई ब्यवस्थित गर्ने उदेश्यले ५ कट्ठा क्षेत्रफल जग्गामा उद्योगको संरचना निर्माण गरिएको र उद्योग स्थापनाका लागि जग्गा सहित करिब ४ करोड लगानी रहेको उद्योगका ब्यवस्थापक ठगेन्द्र प्रसाद (दिपक) घिमिरेले बताउनुभयो ।

प्रती घण्टा २ हजार लिटर क्षमता रहेको उद्योगबाट हाल दुध ,दहि , घ्यु , पनिर , नौनी , खुवा , छुर्पी उत्पादन भइरहेको र उत्पादित सामाग्री विरगंज , कलैया , अमलेखगञ्ज लगायतका स्थानहरुमा बिक्री भइरहेको ब्यवस्थापक घिमिरेले बताउनुभयो । साथै अब छिट्टै नै आइसक्रीम पनि उत्पादन गरि उपभोक्ता सामु पुर्याउँछौं घिमिरेले भन्नुभएको छ । उद्योगमा हाल १७ जना काम गर्ने कर्मचारीहरु रहेका छन् ।

आफ्नै उद्योग भएकै कारण विभिन्न अप्ठ्यारा परिस्थितिका बाबजुद अहिलेको कोरोना महामारीमा समेत किसानले उत्पादन गरेको दूध बन्द गर्नु नपरेको सहकारी संस्थाका ब्यवस्थापक अमरबहादुर वाईबा बताउनु हुन्छ।

संस्थाले किसानलाई नेपाल सरकारले तोकेको मुल्यदरमा केही थप गरि भुक्तानी गरिरहेको , टिएस वापतको ५ प्रतिशत तथा प्रती लिटरमा ५० पैसा थप गरि किसानलाई उपलब्ध गराएको छ । संस्थाले किसानका गोठमै पुगि प्रती गोटा १५०/- रुपैयाँमा आफ्नै पशु प्राविधिक मार्फत कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइरहनुका साथै संस्थाबाट बिमा गरिएका पशुहरुलाई आवश्यकता अनुसार औषधि उपलब्ध गराउनुका साथै ६-६ महिनामा चरचरे, भ्यागुत्ते , खोरेतका सुई निशुल्क लगाउने गरिएको ब्यवस्थापक वाईबाले बताउनुभयो ।

संस्थाले आफ्ना किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँसको बीउ उपलब्ध गराउने गरेको र पशुपालनका लागि २ वर्ष भित्र भुक्तानी गर्नेगरी ११ प्रतिशत ब्याज दरमा ऋण उपलब्ध गराउने गरेको छ । संस्थाको कार्य क्षेत्र भित्रका विभिन्न १४ वटा संकलन केन्द्रबाट दूध संकलन गरिरहेको र संस्था तथा उद्योगमा गरि ४० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको ब्यवस्थापक वाईबा बताउनुहुन्छ । संस्थासँग हाल ४ वटा दूध ट्याङ्कर सहितका गाडीहरू रहेका छन् ।

संस्थाले भविस्यमा दाना उद्योग पनि संचालन गर्ने योजना बनाएको संस्थाका अध्यक्ष टिकाराम न्यौपाने बताउनु हुन्छ । दूध उत्पादन लागत घटाउने उदेश्यले संस्थाले साइलेज निर्माणका लागि तयारी गरेको छ । उद्योगलाई अहिले संस्थामा संकलन भइरहेको दुध अपुग भइरहेकोले किसानले उत्पादन गरिरहेको दुध खेर जान नदिने भन्दै ढुक्क भएर दूध उत्पादन बढाउन न्यौपानेले किसानहरुमा अनुरोध गर्नुभएको छ ।

देशमा हाल ३ तहको सरकार रहेपनी आफुहरुले अपेक्षा गरे अनुसार कुनै सरकारबाट पनि संस्थालाई सहयोग उपलब्ध नभएको न्यौपाने बताउनुहुन्छ। एक उदाहरणीय सफल सहकारी उद्योग संचालन गरि किसानहरुलाई राहत पुर्याइ आम्दानी बढाउन सकिने अध्यक्ष न्यौपानेले बताउनुभएको छ। त्यसका लागि सरकार तथा सहयोगी निकायहरुबाट सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मुख्य समाचार विज्ञान प्रविधि समाज सहकारी