स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाण्डौ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आज श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब रहेको थियो । आफूलाई समर्थन गरेका दलहरूबीच मन्त्रालयको भागबन्डा टुङगो लगाउन बाँकी रहेकाले देउवाले कांग्रेस सांसद श्रेष्ठलाई राज्यमन्त्री मात्र नियुक्त गरेको बुझिएको छ ।

राज्यमन्त्रीमा नियुक्त हुनुभएका भोजपुरका श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद समेत रहनुभएको छ । उहाँ लिटिल एन्जल्स विद्यालयका सञ्चालक समेत हुनुहुन्छ । श्रेष्ठको जग्गा, बैंक र होटल क्षेत्रमा पनि लगानी छ । उहाँ प्याब्सनको अध्यक्ष समेत हुनुहुन्थ्यो । ०००

प्रदेश समाचार मुख्य समाचार राजनीति