मुख्यमन्त्री डोरमणी पौडेलद्वारा बागमती प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन

 

हेटौंडा / हेटौंडा ४ हुप्राचौरमा रहेको बागमती प्रदेश युवा परिषद्को कार्यालयको आज उद्घाटन् गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश युवा परिषद् कार्यालय उदघाटन गरेका हुन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको आज कार्यालय उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री पौडेलले युवाहरुको लागि प्रदेशले धेरै कार्यक्रम ल्याएको र नकारात्मक विचार हटाउन उनले आग्रह गरेका हुन् । उनले भने, ‘हामिहरुमा यो देशमा केहि हुन्न भन्ने नकारात्मक विचारलाई हटाउन जरुरी रहेको छ । आज हामिले विदेशबाट खरबको सामान आयात गर्छौ । त्यो सामान यहि उत्पादन गर्न सके नेपालको अर्थतन्त्र राम्रो हुन सक्छ ।’ मुख्यमन्त्री पौडेलले तीन तहकै सरकारले युवाहरुको लागि विभिन्न कार्यक्रम ल्याएको भएपनि त्यो अवसरलाई उपयोग गर्न नसकिरहेको उनले बताए । युवाहरुलाई आफ्नै देशमा कसरी रोजगारी दिने र पलायन हुन रोक्ने भन्ने योजना ल्याउन युवा परिषदलाई उनले सुझाव दिए ।

त्यस्तै कार्यक्रमको विशेष अतिथि सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवा मुलुकको गहना भएको बताउँदै उनीहरुका लागि विदेशबाट स्वदेशमा फर्काउने वातावरण बनाई खेलकुद, शिक्षा, स्वास्थ्यको क्षेत्रमा परिषद्ले काम गर्नुपर्ने बताइन् ।

प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री रामकुमार अधिकारी, संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेपाल बुद्धीचालसंघका अध्यक्ष एकालाल श्रेष्ठ, सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष रामेश्वर राना, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय