जिल्ला समन्वय समिती मकवानपुरको छैठौं जिल्ला सभा सम्पन्न, उत्कृष्ट काम गर्ने तिन पालिका सम्मानित

 

हेटौंडा / जिल्ला समन्वय समिति मकवानपुरको छैठौं जिल्ला सभा शुक्रबार हेटौंडामासम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको १३ जिल्ला मध्ये उत्कृष्ट काम गरेको र अन्य जिल्ला समन्वय समितिहरु भन्दा मकवानपुरको नेतृत्व राम्रो रहेको बताउनुभयो ।
समन्वय, सहजीकरण गर्न, स्थानीय तह, प्रदेश र संघीय सरकारसँग जिसस मकवानपुर अब्बल रहेको मुख्यमन्त्री पौडेलको भनाई छ । संघ, प्रदेश र स्थानीय तहमा आफ्नो भूमिका स्थापित गरेर जिल्ला समन्वय समिति मकवानपुरले यो संस्था आवश्यक छ भन्ने प्रमाणित गरेको बताउनुभयो ।
जिल्ला सभाबाट जिल्ला समन्वय समिति मकवानपुरले हालसम्म गरेका काम कारवाही तथा अर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७८/७९ को आय तथा व्ययको अनुमान सम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७७/०७८ को संसोधित व्यय विवरण, विनियोजिन तथा प्रगति समिक्षा, बेरुजु तथा सम्परिक्षण सम्बन्धी प्रतिवेदन र अधिकार प्रत्यायोजन प्रस्ताव पारित गरिएको छ ।
जिल्ला सभाका अवसरमा जिल्लामा उत्कृष्ट कार्य गर्ने थाहा नगरपालिका पहिलो, मनहरी गाउँपालिका दोश्रो र तेस्रो हुने बकैया गाउँपालिकालाई पुरस्कृत गरिएको थियो ।

सभामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नेपाली कांग्रेसका प्रवक्ता प्रदिप कोइराला, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण देवकोटा,जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहाल, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, बरिष्ट पत्रकार प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय