प्रचण्डलाई विश्वास गरेर पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी : शंकर पोखरेल

काठमाण्डौ । तीन दिन अगाडि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु गल्ती भएको बताएका छन्।

शनिबार दाङको घोराहीमा सहिद नेत्रलाल अभागीको शालिक अनावरण पछि सम्बोधन गर्दै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आधार बनाएर पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी भएको बताए।

‘प्रचण्डकै कारण मुलुकमा अहिलेको अस्थिरता पैदा भएको हो,’ पोखरेलले भने, ‘आजको परिणामको प्रमुख कारक प्रचण्ड नै हुन्।’

प्रचण्डले माओवादीको युद्धकालीन नीति अझै नछोडेको दाबी गरे। ‘प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो,’ पोखरेलले भने, ‘आजको परिणाम त्यसै कुराको पुष्टि हो भन्ने मलाई लाग्छ।’

प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद, महत्वाकांक्षा जस्ता कुरा नै नेपालको राजनीतिको अस्थिरताको कारण भएको पोखरेलले बताए।नेकपा एउटै घोषणा-पत्र बनाएर निर्वाचनमा गएपछि जितेपछि माओवादीका अध्यक्ष प्रचण्डहरूले अर्कै कुरा गर्न थालेको उनको तर्क थियो। ‘जनतामाझ जाँदा एउटा र जितेपछि अर्कै कुरा,’ उनले प्रश्न गरे, ‘त्यो जनतामाथि गरिएको घात हो, जनताप्रति उत्तरदायी नहुनुको परिणाम हो।’

मुख्य समाचार राजनीति