५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा हेटौंडाका महेश प्रथम भए

 

हेटौंडा / प्रदेश युवा परिषदको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत आज ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगितामा हेटौंडाका महेश मोक्तान प्रथम भएका छन् ।

अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

दौड प्रतियोगितामा ४० जनाले सहभागीता रहेको थियो ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड प्रतियोगिता पिप्लेसम्म पुगि पुन बुद्धचोक मै समापन भएको थियो । प्रतियोगितामा हेटौंडा १३ वनस्पतिका महेश मोक्तानले १६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरि प्रथम भएका थिए । त्यस्तै दोस्रो हुनेमा प्रदेश प्रहरी कार्यालयका सुरेश साह रहेका छन् । उनले १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरेका थिए । प्रदेश प्रहरी कार्यालयकै एजिन राईले १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गरि तृतिय भएका छन् ।

प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । साताव्यापी कार्यक्रमको पहिलो दिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गरिएको थियो ।

त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ भने साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम आज सम्पन्न भएको छ ।

साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रबाट जोगाउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने, साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने, भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन र भदौ २ गते कार्यक्रम समापन गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २००० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।

खेलकुद मुख्य समाचार समाचार स्थानीय