आफ्नै भवनमा दियालो बचत तथा ऋण सहकारी

हेटौँडा, २ भदौ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाले आज बुधबारदेखि आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । यस अघि लेवटमा भाडाको घरमा सञ्चालन हुँदै आएको संस्थाले घर खरिद गरी लेवट बजारमा दुई तले भवनमा सरेको हो ।

सहकारी संस्थाका अध्यक्ष शिवराज बर्तौलाको सभाध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष राम कुमार पुडासैनीले नयाँ भवनको उद्घाटन गरेका हुन । कोरोना संक्रमणका कारण देशको वित्तिय क्षेत्र सुस्त रहेको अवस्थामा पनि छोटो अवधीमा सो सहकारीले आफनै भवनबाट कारोबार शुरु गर्नु सुखद भएको प्रमुख अतिथी पुडासैनीले बताए । सहकारीको स्थापनाले गर्दा खनखाचोमा पैसा आवश्यकता पर्दा चर्को व्याजमा व्यक्तिसंग ऋण लिनुपर्ने बाध्यता हटेको उनले बताए । दियालो सहकारीले ग्रामिण भेगको आर्थिक विकासमा महत्वपुर्ण योगदान गरेको उल्लेख गर्दै पुडासैनीले सहकारी विकासका लागि वडावाट पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका कोषाध्यक्ष दिपक बर्तौलाले दियालो साकोस कोषेढुङ्गा सावित हुने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बर्तौलाले आफ्नै स्वामित्वको भवन अघिल्लो वर्ष नै सञ्चालनमा ल्याउने तयारी रहेको भएपनि कोरोना संक्रमणका कारण ढिलो भएको बताए । लेवटमा एक घर एक सदस्य अवधारणा संचालन गरि यस वर्ष भित्र दोब्बर सदस्य बनाइने र सदस्यहरुको लागि नयाँ योजना छिट्टै सार्वजनिक गरिने उनले बताए ।

नयाँ भवन उद्घाटन कार्यक्रममा सोही स्थानमा रहेको विद्यालयको प्रतिनिधि,लेवट प्रहरी पोष्टको प्रतिनिधि, आमा समुह, संस्थाका शेयर सदस्य, सदस्य, सञ्चालक समिति, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

२०७१ सालमा स्थापित संस्थाको शेयर पूँजी हाल ५३ लाख, निक्षेप २ करोड र ऋण लगानी २ करोड ५० लाख हाराहारीमा रहेको व्यवस्थापक हरिशरण पाठकले जानकारी दिए

मुख्य समाचार सहकारी