देशभर आज जनै पूर्णिमा पर्व मनाइँदै

 

हेटौंडा / आज श्रावण शुक्ल पूर्णिमाको दिन रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।

आजको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाधी जनै पुर्णिामा पर्व मनाउने परम्परा रहेको छ ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

क्वाँटी खाने परम्पररा

जनै पूर्णिमाका दिन आज एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता रही आएको छ ।

विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने बिश्वास गरिन्छ ।

तराई क्षेत्रमा राखी बाँधिदै

नेपालको तराई मधेस क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा आपसी बिश्वास  र प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यस पर्वका अवसरमा सरकारले यो बर्ष सार्वजनिक बिदा दिएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय