अफगानिस्तानबाट ६ लाख ३४ हजार नागरिक विस्थापित

काबुल / अफगानिस्तानबाट यस वर्ष ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन्। यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ। विस्थापित भएकामध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरुले जनाएका छन्।

देशमा भइरहेको आन्तरिक द्धन्द्धका कारण उनीहरु विस्थापित भएको जनाइएको छ। तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाहरुको सङ्ख्यामा पनि एकाएक बृद्धि भएको पाइएको छ। देश बाहिर विस्थापित भएका मध्ये विदेशी नागरिकहरुको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीहरुको भनाइ छ।

विस्थापित भएका मध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ। अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकाहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सवैलाई आह्वान पनि गरेको छ।

अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसंघले विदेशी समुदायलाई आग्रह गरेको हो।

संयुक्त राष्ट्रसङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए। ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशले जनाएका थिए। त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए।

अन्तराष्ट्रिय राजनीति समाचार