मकवानपुरगढीमा आजदेखी ३ दिनसम्म कोरोना विरुद्धको करिब ५ हजार डोज खोप लगाइने

मक्रान्चुली- मकवानपुरगढीमा आजदेखी ३ दिन कोरोना विरुद्धको खोप लगाउन लागिएको छ । तीन दिनमा करिब ५ हजार डोज खोप लगाइने गाउँपालिकाले जनाएको छ ।

जस अनुसार आज वडा नं १ देखि वडा नं ८ का सबै स्वास्थ्य संस्थाबाट १९ सय जनालाई भेरोसेल खोपको दोश्रो मात्रा लगाउनेछ । गत भाद्र १७ र १८ गते कोभिड -१९ विरुद्धको प्रथम मात्रा खोप लगाएकालाई दोश्रो डोज खोप लगाउन लागिएको हो ।

त्यसैगरी भोलि १३ गते र १४ गते वडा नं १-८ का सबै स्वास्थ्य संस्थाबाट २ हजार ९ सय जनालाई भेरोसेल खोपको प्रथम मात्रा लगाउने कार्यक्रम रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो । यस अघि कोरोना विरुद्धको खोप नलगाएका ४० वर्ष माथीका नागरिक तथा १८ वर्ष पूरा गरेका विद्यार्थीहरुलाई पहिलो मात्रा खोप लगाईनेछ ।

यसै क्रममा १४ गते मकवानपुरगढी स्वास्थ्य चौकीबाट ५ सय डोज र आमभन्ज्याङ्ग स्वास्थ्य चौकीबाट ५ सय डोज एस्ट्राजेनेका खोपको प्रथम मात्रा लगाइने कार्यक्रम रहेको लामिछानेले बताउनु भएको छ ।

यसरी आश्विन १२ गतेदेखि १४ गतेसम्ममा गत भाद्र १७ र १८ गते कोभिड -१९ विरुद्धको प्रथम मात्रा खोप लगाएका १ हजार ९ सय जनालाई दोश्रो मात्रा र कोभिड -१९ विरुद्धको हालसम्म कुनै पनि खोप नलगाएका ३ हजार ९ सय जनालाई प्रथम मात्रा खोप लगाइने छ।

हालसम्म मकवानपुरगढीमा कोभिड १९ विरुद्धको पुरा मात्रा लगाउने ३ हजार ३ सय जना पुगेको छ, आश्विन १२ गतेको दोश्रो मात्रा लगाएपछि पूरा मात्रा ( दुबै मात्रा ) लगाउनेको संख्या ५२ सय जना पुग्नेछ। त्यस्तै आश्विन १२ देखि १४ गते खोप अभियान संचालन भैसकेपछि कुल खोप लगाउनुपर्ने १८ बर्ष माथिको अनुमानित जनसंख्या २०६८ सालको जनगणनाको आधारमा ६८ प्रतिशत अर्थात् १७ हजार २१९ जना मध्ये १९.१६ प्रतिशत अर्थात् ३३ सय जनाले खोपको दुबै मात्रा र ४१.८१ प्रतिशत अर्थात् ७२ सय जनाले प्रथम मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

मुख्य समाचार समाचार स्वास्थ्य