अर्ली इलेक्सनमा जान उपयुक्त हुन्छ : अध्यक्ष ओली

काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमितरूपमा सञ्चालन र सरकार विस्तार हुन नसक्ने स्थिति रहिरहने हो भने मुलुकलाई ताजा जनादेशमा लानु नै उपयुक्त भएको बताउनुभएको छ ।

आसन्न विधान महाधिवेशनका सन्दर्भमा हिजो विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं वरिष्ठ पत्रकारसँगको छलफल कार्यक्रममा अध्यक्ष ओलीले यही सरकारले प्रतिनिधिसभाको कार्यकाल अगावै निर्वाचन गराए आफूहरु प्रतिपक्षमै रहेर सहभागी हुने स्पष्ट गर्नुभयो । पत्रकारको एक प्रश्नमा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “संसद् र जनताको स्थिरता र समृद्धिको चाहनाका लागि दिइएको बहुमूल्य समय बर्बाद गर्नुहुँदैन । यस्तो अवस्थामा ‘अर्ली इलेक्सन’मा जान उपयुक्त हुन्छ ।”

लोकतान्त्रिक प्रणालीमा जाँदा जनादेशमा जाने कुरालाई प्रतिगमन नभई अग्रगमन भन्नुपर्ने तर्क गर्दै उहाँले विगतमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णयलाई सर्वाेच्च अदालतबाट पुनःस्थापना गराइएकामा आफूहरुले आलोचनासहित फैसलालाई मानेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष ओलीले संविधानमा भएको व्यवस्था विपरीत नयाँ दल खोल्न पाउने अध्यादेश ल्याइएकामा विरोध गर्दै सो अध्यादेशलाई फिर्ता गर्दा पनि संसदीय प्रक्रियाको पालना नगरिएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने जनाउनुभयो ।

मुख्य समाचार राजनीति समाचार