मकवानपुरका ठुला दुग्ध सहकारी मै छैन कर्मचारीलाई न्युनतम पारिश्रमिक

हेटौंडा- मकवानपुर जिल्लामा रहेका दुग्ध सहकारीमा काम गर्ने कर्मचारीले सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ती मध्ये कारोबारका हिसाबले ठुलामा गनिएका केहि सहकारीले नै कर्मचारीहरुलाई न्युनतम पारिश्रमिक दिएका छैनन् ।

प्रत्येक दिन दिनको दुई पटक बिहान-बेलुका संस्थामा उपस्थित भइ काम गर्नुपर्ने , चाडपर्व लगायत बिदाका दिनहरुमा समेत काम गर्नुपर्ने तथा छरछिमेकमा मर्दा-पर्दा समेत जन्ती-मलामीमा सहभागी हुन नपाइने तर पारिश्रमिक भने सार्है न्युनमा काम गर्नुपर्ने बाध्यता रहेको कर्मचारीहरुले दुखेसो गरेका छन् ।

आम्दानी न्युन भएका कम कारोबार गर्ने सहकारीहरुले कर्मचारीहरुलाई राज्यले तोकेको न्युनतम पारिश्रमिक दिन नसक्नुलाई त स्वभाविक मान्न सकिएला तर कारोबारका हिसाबले ठुलामा गनिएका वार्षिक दशौं लाख भन्दा माथी नाफा कमाउने सहकारीले समेत न्युनतम पारिश्रमिक नदिनुलाई स्वभाविक मान्न नसकिने स्वयं कर्मचारीहरुको नै भनाई रहेको छ ।

मकवानपुर जिल्ला भरीमा ठुला दुग्ध सहकारीमा गनिएका मध्ये हेटौंडा उपमहानगरपालिकामा रहेका २ वटा र मकवानपुरगढी गाउँपालिकामा रहेका २ वटा गरि ४ वटा सहकारीमा कर्मचारीले पाउने तलब सुविधाको विषयमा शुभ बिहानी डटकमले अध्ययन गरेको छ ।

अध्ययन गरिएका ४ सहकारीहरु मध्ये हेटौंडा उपमहानगरपालिका वडा नं १७ , चिसापानीमा रहेको चेतनशील दुग्ध उत्पादक सहकारी संस्थामा काम गर्ने कर्मचारीहरुले सबैभन्दा न्यून पारिश्रमिक पाउने गरेको पाइएको छ । उक्त संस्थामा काम गर्ने कर्मचारीहरु मध्ये सबैभन्दा धेरै तलब सुविधा बुझ्ने कर्मचारीको तलब स्केल १४ हजार ३ सय रहेको छ भने सबैभन्दा कम तलब ९ हजार २ सय रहेको ब्यवस्थापक दिपक ढकालले बताएका छन् । बिदाको दिन र थप समय काम गर्दा मासिक तलब धेरै लिनेले अधिकतम २३ हजार ५ सय सम्म र कम लिनेले अधिकतम १६ हजार सम्म लिएको ढकालले बताए ।

त्यसैगरी हेटौंडा उपमहानगरपालिका भित्रै वडा नं ६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले भने चेतनशील सहकारी संस्थाको तुलनामा केही संतोषजनक तलब पाउने गरेको पाइएको छ । त्यहाँ कार्यरत कर्मचारी मध्ये सबैभन्दा धेरै तलब सुविधा लिने कर्मचारीको तलब स्केल २२ हजार रहेको छ भने सबैभन्दा कम तलब लिने कर्मचारीको १७ हजार तलब स्केल रहेको र बिदा तथा थप समय काम गरेवापत धेरै बुझ्नेले कुल ३४ हजार सम्म बुझ्ने गरेको र कम तलब बुझ्नेले २३ हजार सम्म बुझ्ने गरेको ब्यवस्थापक नवराज गौतमले बताएका छन् ।

त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध सहकारी संस्थामा काम गर्ने कर्मचारीहरुको न्युनतम १५ हजार देखि अधिकतम १८ हजार ५ सय सम्म तलब स्केल रहेको र थप सुविधा सहित न्युनतम कुल १८ हजार देखि २४ हजार सम्म तलब बुझ्ने गरेको संस्थाका ब्यवस्थापक शशी लम्सालले बताएकी छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं ५ भालुखोलामा रहेको उज्वल दुग्ध उत्पादक सहकारी संस्था पनि मकवानपुरका ठुला दुग्ध सहकारी अन्तर्गत नै रहेको छ । त्यहाँ अन्य सहकारीको तुलनामा कर्मचारीहरुलाई मासिक तलबमान सुविधा अलि राम्रो देखिएको छ । संस्थामा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा धेरै तलब स्केल २६ हजार ६ सय छ भने न्युनतम तलब स्केल १६ हजार ६ सप छ । त्यसमा सबै सुविधा सहित धेरै तलब लिनेले मासिक ३५ हजार सम्म बुझ्ने गरेका छन । त्यसैगरी कम तलब लिनेले मासिक २० हजार सम्म तलब सुविधा लिने गरेको संस्थाका लेखा सहायक राजकुमार न्यौपानेले बताए ।

राज्यले सबै क्षेत्रका कर्मचारीहरुको न्युनतम तलब कम्तिमा १५ हजार हुनुपर्ने उल्लेख गरेको छ । माथी उल्लेख गरिएका दुग्ध संस्थाहरु ता ठुला संस्थामा गनिएका प्रतिनिधि संस्थाहरू मात्र हुन । अझ अलि कम दुध कारोबार लगायत अन्य कम कारोबार गर्ने सहकारी संस्थाहरुमा काम गर्ने कर्मचारीहरुले पाउने तलब सुविधाका विषयमा अध्ययन गर्ने हो भने अझ कठिन परिस्थितिमा काम गर्नु परिरहेको सहजै अनुमान गर्न सकिन्छ ।

नसक्नेको कुरा छाडौं आम्दानी धेरै भएका सक्ने सहकारी संस्थाहरुले समेत कर्मचारीलाई उचित तलब सुविधा (पारिश्रमिक) दिन नखोज्नु बिडम्बना नै रहेको छ ।

खानपानमा लाग्ने दैनिक घरखर्च , बच्चाको पढाइ लेखाइमा लाग्ने खर्च लगायत पानी , बिजुली , टिभी , ईन्टरनेटमा लाग्ने खर्च जोड्ने हो भने अन्य क्षेत्रबाट आय नभएका कर्मचारीहरुलाई कम आय भएका तथा न्यून तलब सुविधा भएका सहकारीमा काम गरेर मात्र परिवार पाल्न निकै नै मुश्किल पर्ने स्थिति रहेको छ ।

अर्थ सहकारी