ईपीएलमा पाेखराले चितवनलाई दियो ११२ रनकाे लक्ष्य

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय १२ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए ।

कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे ।

विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।

पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उनले मात्र २० रन खर्चिए ।

यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए ।  सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो । आज दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।  

पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो ।

यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

खेलकुद मुख्य समाचार समाचार