राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकोे दोश्रो अधिवेशन हेटौंडामा हुने, भोटिङ मेसिनद्वारा मतदान गर्ने तयारी

हेटौंडा / राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिको चौथो साधारण सभा तथा दाश्रो अधिवेशन हेटौंडामा हुने भएको छ । आगामी मंसिर २४ र २५ गते बागमती प्रदेश समितिको साधारण सभा तथा अधिवेशन हुने भएको हो ।

अधिवेशनमा मतदान गर्नपर्ने अवस्था आएमा अपाङ्गता भएका व्यक्तिहरुकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्थान मिलाइने महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले बताउनुभयो ।

अधिवेशनको सन्दर्भमा जानकारी दिने उद्देश्यले आज (आइतरबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव कृत्तन श्रेष्ठ दुवालले अधिवेशनमा १ सय ३७ वटा संस्थाका प्रतिनिधि सहभागी हुने बताउनुभयो । प्रत्येक संस्थाबाट एक महिलासहित दुई जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने समेत सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

वर्तमान कार्यसमितिले थुप्रै राम्रा कामहरु गर्न सफल भएको महासंघ बागमती प्रदेश समितिका अध्यक्ष अश्विन लम्सालले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहकार्यमा मन्त्रालयभित्र अपाङ्गता सूचना केन्द्र स्थापना गर्न महासंघ सफल भएको उनको भनाई थियो ।

महासंघको पहलमा बागमती प्रदेशको १ सय १९ स्थानीय तहमा समूदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्ने बजेट विनियोजन गरिएको उनले बताउनुभयो । प्रतिकुुलतामा पनि कोभिड महामारीसँग जुध्दै छोटो समयमा केही सफलताहरु हासिल गर्दै आफ्नो तीन वर्षीय कार्यकाल पूरा भएको उहाँले बताउनुभयो ।

महासंघको अधिवेशनलाई पर्वको रुपमा लिइ सभ्य र भव्यताका साथ सम्पन्न गराउन उनले सबै सदस्य संस्था, अधिकारकर्मी, साझेदारी निकाय, नागरिक समाज, एवम् अपाङ्ता भएका व्यक्तिहरुमा अपिल गर्नुभयो ।

अधिवेशनले आगामी ३ बर्षको लागि १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

समाचार समाज स्थानीय