भानु मावीको आयोजनामा मकवानपुरगढी गाउँपालिका स्तरीय शिक्षक फुटबल प्रतियोगिता शुरु

१६ कार्तिक २०७८ , मक्रान्चुली- शुभ दिपावली एवम् छठ पर्वको उपलक्ष्यमा मकवानपुरगढी -३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले पालिका स्तरीय शिक्षक फुटबल प्रतियोगिताको आयोजना गरेको छ । १६ र १७ गते गरि २ दिन संचालन हुने प्रतियोगितामा पालिका भरिबाट १० वटा विद्यालय र गाउँपालिका कर्मचारी टिम गरि जम्मा ११ वटा टिमको सहभागिता रहेको छ ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले आज बिहान खेलको उद्घाटन गर्नुभएको छ । भानु मिनि पिच फुटसलमा आयोजना गरिएको खेलको उद्घाटन कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरे र गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानको विशेष आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा भानु माविका प्रधानाध्यापक राजेन्द्र थापा , जनता मावी सुकौराका प्रधानाध्यापक होमकुमार नेपाली , भानु माविका पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद चौलागाईं , पुर्व शिक्षक इन्द्रप्रसाद संजेलले मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता भानु माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रीनले गर्नुभएको थियो ।

यसैगरी खेलको पहिलो दिनमा भएको प्रतियोगितामा भानु , वंशगाेपाल , जनक र रानिशेरा मा वि सेमिफाइनलमा प्रवेश गरेका छन् । भोलि बिहान सेमिफाइनल खेल हुनेछ भने दिउँसो फाइनल खेल पश्चात् खेलको समापन हुने आयोजक विद्यालय भानु माविका प्रधानाध्यापक राजेन्द्र थापाले बताउनु भएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजन मकवानपुरगढी गाउँपालिकाले गरेको छ भने विभिन्न ब्यक्तिहरुबाट पनि प्रतियोगिताको लागि सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।

खेलकुद मुख्य समाचार