नेपालबाट चोरी भएको पुरातात्विक महत्वको टुँडाल अमेरिकाको एक निजी संग्रहमा भेटियो

काठमाडौँ / सन् १९८० को दशकमा नेपालबाट चोरी भएको पुरातात्विक महत्वको टुँडाल अमेरिकाको एक निजी संग्रहमा भेटिएको छ। काठमाडौँको ह्युमतमा रहेको नारायण मन्दिरबाट चोरी भएका १२–१३ औँ शताब्दीका पुरुषको आकृतियुक्त काठका दुई टुँडाल अमेरिकाको प्रिट्ज्कर कलेक्सनमा भेटिएका हुन्।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बुधबार जारी गरेको सूचनामा ह्युमतको नारायण मन्दिरबाट कुल १० वटा टुँडाल चोरी भएको उल्लेख छ। यो मन्दिरको तल्लो छानोको भागमा रहेका सबै ८ र माथिल्लो भागमा रहेका दुई टुँडाल चोरी भएका हुन । (तस्बिर स् लस्ट आर्टस् अफ नेपाल )
सो मन्दिरबाट चोरिएकामध्ये दुई टुँडाल प्रिट्ज्कर कलेक्सनमा पहिचान गरिएको हो। बाँकी टुँडालहरु पनि अहिले विभिन्न निजी तथा सार्वजनिक कलेक्सन वा संग्रहालयमा रहेको ‘लस्ट आर्टस् अफ नेपाल’ ले जनाएको छ।

सन् १९६०–७० को दशकमा गणेशमान चित्रकारले खिचेको नारायण मन्दिरको तस्बिरमा देखिएका टुँडालहरु सन् १९८० को दशकमा चोरी भएका थिए।

अहिले प्रिट्ज्कर कलेक्सनमा पहिचान भएका टुँडाल नारायण मन्दिरको तस्बिर तथा त्यसमा देखिएको टुँडालको विश्लेषण गर्दा सोही मन्दिरकै रहेको खुलेको ‘लस्ट आर्टस् अफ नेपाल’ जानकारी दिएको छ।

 

मुख्य समाचार समाचार समाज