पत्रकार महासंघले भन्यो : पत्रकारले दलको कार्यकारी भुमिकामा बस्न मिल्दैन

५ मंसिर, काठमाडौं – नेपाल पत्रकार महासंघले आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्यलाई कुनैपनी राजनीतिक दलको कार्यकारी भूमिकामा निर्वाचित भएका राजीनामा दिन आग्रह गरेको छ । पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने भन्दै महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।

पत्रकार महासंघका महासचिव रोसन पुरीले आज एक विज्ञपति जारी गर्दै ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन् ।

अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनबाट महासंघमा आवद्ध भएका पत्रकारहरु समेत कार्यसमिति तथा महाधिवेशन प्रतिनिधि बनेका खबर आइरहेको भन्दै यसरी दलीय राजनीतिमा सहभागी भएकाहरुलाई महासंघ छाड्न आग्रह गरिएको महासंघका एक पदाधिकारीले बताए । राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने भन्दै महासंघले महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा पनि कुनै दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्ध रहेको बताएको छ ।

गत भदौ ९ गते मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजनाको बुँदा ३.५. मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ व्यवस्था रहेको पनि महासंघले बताएको छ ।महासंघका केन्द्र, प्रदेश र शाखा समितिका पदाधिकारी विभिन्न दलको कार्यसमितिमा निर्वाचित हुँदा र प्रतिनिधि बन्दा उनीहरुको स्वतन्त्रताको विषयमा सार्वजनिक प्रश्न उठेका बेला महासंघले उनीहरुलाई नैतिकता देखाउन भनेको हो । (विज्ञप्ती सहित)

मुख्य समाचार रोचक