राष्ट्रिय कर दिवसको अवसर पारी हेटौंडामा पत्रकारहरुलाई १ दिने कर शिक्षा अभिमुखिकरण

६ मंसिर , हेटौंडा – स्वेच्छिक कर सहभागिता अभिवृद्धि : सुशासन , विकास र समृद्धि भन्ने मुल नाराका साथ मनाइरहेको दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसर पारी मकवानपुरका मिडियामा काम गर्ने पत्रकारहरुको उपस्थितिमा १ दिने कर शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजस्व कार्यालय हेटौंडाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा मकवानपुरका विभिन्न संचार गृहमा काम गर्ने करिब २० जना ब्यवस्थापक, पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संचारगृह लगायत अन्य ब्यवसायमा गरिने आर्थिक कारोबारको विभिन्न शिर्षकमा लाग्ने कर ब्यवस्थालाई सहि तरिकाले प्रबृष्टी गर्ने लगायत कर सम्बन्धि लेखा राख्ने तरिकाका विषयमा प्रष्ट पारिएको थियो ।

आन्तरिक राजस्व कार्यालय हेटौंडाका कर अधिकृत तथा कार्यालयका प्रवक्ता सुमन बुढाथोकीले कार्यक्रमको संयोजन तथा सहजीकरण गर्नुभएको कार्यक्रममा कार्यालयका निमित्त प्रमुख कर अधिकृत मनिस कुमार महतोको समेत उपस्थिति रहेको थियो । राज्यको चौथो अङ्ग मानिएका पत्रकारहरुलाई आयकर सम्बन्धि ब्यवस्थाका बारेमा सहि जानकारी भए समाजलाई सुसूचित गर्न सहज हुने भन्दै प्रमुख महतोले यस तर्फ अग्रसरता देखाउन अनुरोध गरेका थिए ।

नेपाल पत्रकार महासंघ मकवानपुर र आन्तरिक राजस्व कार्यालय हेटौंडाको संयुक्त आयोजनामा भएको कार्यक्रम पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।

अर्थ मुख्य समाचार