बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा मकवानपुरगढी गाउँपालिका

१५ मंसिर , मक्रान्चुली – आउँदो माघ महिनाभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने गरि मकवानपुरगढी गाउँपालिकाले तयारी थालेको छ। आज सरोकारवालाको भेला गराई गाउँ पालिकाले सो कुराको जानकारी गराएको हो ।

बुधबार गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणा तथा दिगोपनाका लागि सरोकारवालासँग अन्तरक्रिया एवम् सामूहकि प्रतिवद्धता कार्यक्रमको आयोजना गर्दै हाल सम्म भएका बालमैत्रीका कार्य सम्पादनका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

आगामी माघको अन्त्यसम्म मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको स्थानीय तहको रुपमा घोषणा गर्ने कार्यक्रम रहेको बताउँदै गाउँपालिका अध्यक्ष बिदुर हुमगाईले भने ‘ थोरै समयमा धेरै काम गर्न बांकी छ, यसमा सबैको समूहिक साथ चाहिन्छ ।’ गाउँपालिकामा हुने गरेको बाल बिबाह,बाल श्रम जस्ता कुराहरु अझै चुनौतीपूर्ण रहेको भन्दै अध्यक्ष हुमागाईले चाँडो बिहे गर्दा आउने गम्भीर समस्याबारे अभिभावकले जानकारी गराउन पर्ने उनले बताए । ‘बाल विवाह विरुद्धको कानून बनिसक्यो अब चर्चामात्रै हैन, गम्भीर हुनुपर्छ’ उनले भने ।

कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले ७० प्रतिशत काम भइसकेको र ३० प्रतिशत मुख्य कामहरु बाकीँ रहेको बताए । उनले बाल सहजकर्ताको माध्यमबाट ६६ वटा प्रश्नावलीकोबाट काम भएको बताए । उनले गाउँपालिकामा बालमैत्री घोषणाका लागि बाल श्रम र बाल विवाहको चुनौती रहेको समेत बताए ।बालमैत्री स्थानीय शासन घोषणा गर्नको लागि हाल ५१ वटा सूचक पुरा गरेको हुनुपर्ने कार्य पत्र पस्तुत गर्दै पुडासैनीले ‘‘बालबालिका समस्या सामाधानको लागि चाहिने स्रोत हुन्, उनीहरु माथि खर्च गरेको हैन लगानी गरेको सम्झनु पर्दछ ।’ गाउँपालिकामा बाल विवाह, बाल प्रेम विवाह, बाल श्रम, जातीय तथा लैङ्गिक विभेद, घरेलु हिंसा, यौन शोषण, शारीरिक तथा मानसिक हिंसा, बेचबिखन तथा ओसारपसार जस्ता कुरीतिहरु चुनौतिको रुपमा रहेको उनले बताए ।

गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ५ का वडाध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सिविन हेल्पलाइनका प्रमुख झविन्द्र ज्ञवाली, गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामकुमार घलान,स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछाने लगायत विभिन्न शाखाका प्रमुख,राडो नेपाल, ग्रामिण महिला सेवा केन्द्र, गाउँपालिकामा रहेका विभिन्न सहकारीका अध्यक्ष एवम् प्रतिनिधि, टोल विकासका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो। सहभागीहरुले यस अभियानलाई सफल बनाउन प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

मकवानपुरमा यस अघि पहिलो मनहरी गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा गरिसकेका छन् ।

मुख्य समाचार रोचक समाज