नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी

२० मंसिर ,हेटौंडा- नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन्। पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धिबाट अर्का उमेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै मकवानपुरका बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् ।

आइतबार सम्पन्न भएको पुनः निर्वाचन मार्फत बानियाँले अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै बागमती प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका हुन् । बानियाँले १ हजार ८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी जगदीश नरसिंह केसीले ९ सय २७ मत मात्र प्राप्त गरेका थिए । १३ मत भने बदर भएको छ । कुल २१ सय ५१ मतमध्ये २ हजार २५ मत खसेको जनाइएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिएका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापति समेत हुन् ।

हेटौंडाको फरेष्टीमा भएको कांग्रेसको बागमती प्रदेश अधिवेशनमा पहिलो चरणको मतदानमा कुनैपनि उमेदवारको ५१ प्रतिशत मत नआएपछी पुनः मतदान भएको थियो। हिजै मात्र कृष्ण सिटौला पक्षले पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेको थियो । यसअघि शनिबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदिश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए । प्रधानले बानियाँलाई समर्थन गरेसंगै विजयी हुनका लागि सहज भएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित इन्द्रबहादुर बानिया २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए । २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ बर्षीय बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजय भएदेखि निरन्तर सांसद रहेका छन् । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन् ।

२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहेका छन् । बागमती प्रदेशसभामा बलियो प्रमुख प्रतिपक्ष र सशक्त प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसलाई उभ्याउन बानियाँले आफ्नो प्रभावकारी भूमिका प्रस्तुत गरेकाले प्रदेशसभामा पनि बानियाँको धारणालाई सबै दलले अर्थपूर्ण रुपमा लिने गरेका छन् । राजनीतिक, सामाजिक एवं आर्थिक क्षेत्र सबैमा बानियाँलाई एक विश्वासिलो व्यक्तित्वको रुपमा लिने गरिएको उनलाई चिन्नेहरु बताउँछन् ।

प्रदेश समाचार मुख्य समाचार राजनीति