पर्यटनमन्त्री प्रेम आलले भन्सार छलेर ल्याए ७ रोलेक्स, ७ आइफोन र ९ बोतल रक्सी

काठमाडौं । बेला बेला विवादमा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन प्रेम आले । दसैंको बेला विदेशबाट नेपाल आउदा ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर सामान ल्याएको पाइएको छ ।

गत नोभेम्बरमा लन्डनमा ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) आयोजना भएको थियो । लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका थिए ।

सन् २०२१ को डब्लूटीएममा पनि नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम सहभागी थिए । त्यस्तै पर्यटनमन्त्री प्रेम आले, तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी पनि उक्त कार्यक्रममा गएका थिए ।

कार्यक्रमका लागि गएका सबै सहभागीले आउने र जाने दुईतर्फी टिकट कतार एयरवेजमाकाटेका थिए । अन्य सहभागीहरूले दुईतर्फी टिकट १ लाख ३८ हजार रुपैयाँमा काटेका थिए । तर मन्त्री आलेले बिजनेस क्लासको टिकट काटेर १२ लाख रुपैयाँ खर्चेका थिए ।
मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारीअनुसार मन्त्रीले स्वकीय सचिवलाई पनि सोही बराबरको टिकटमा लन्डन लगेका थिए ।

यसरी टिकटमै सौख देखाएका मन्त्री आलेले विदेशबाट फर्कंदा त हदै गरे । ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर नेपाल छिराए ।
मन्त्री आलेले काठमाडौं फर्किंदा ड्युटी फ्रीमा लाखौँको सामान खरिद गरेर काठमाडौं ल्याएको खुलेको हो ।

नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई एक जना बराबर ५ सय डलर मात्र लिजान सुबिधा दिएको छ । राष्ट्र बैंकको नीतिलाई समेत चुनौती दिँदै मन्त्री आलेले भने लाखौँ पर्ने सामान खरिद गरेर काठमाडौं ल्याएका छन्। मन्त्री आलेले लन्डन जाँदा २० हजारभन्दा बढी डलर खर्च गरेकोसमेत पाइएको छ ।

अहिले भन्सार कार्यालयले एउटा मोबाइल र एउटा घडी तथा ड्युटी फ्रीको रक्सी समेत एक बोत्तलभन्दा बढी ल्याएका जफत गर्ने व्यवस्था गरेको छ ।

तर मन्त्री आलेले स्कटल्यान्ड विमानस्थलबाट लन्डन आउँदा ५ बोतल डबल ब्ल्याक लेबल खरिद गरेका थिए । पुनः लन्डनबाट ५ नोभेम्बरमा नेपाल फर्कँदा दोहा विमानस्थलमा ४ बोतल सिवास रिगल खरिद गरेका थिए। अतिरिक्त सामानका कारण मन्त्री आलेले लन्डनमा दुईवटा सुटकेस थपेका थिए ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री त्यतिमै रोकिएनन् । उनले ७ थान रोलेक्स घडीसमेत किने, नेपालमा शीर्ष नेताहरूलाई उपहार दिनका लागि। फरक फरक मूल्यमा पाइने रोलेक्समध्ये मन्त्री आलेले किनेको रोलेक्सको मूल्य ७ लाख रुपैयाँ हाराहारी परेको स्रोतले बतायो ।

त्यस्तै मन्त्री आलेले दोहामै ७ वटा आइफोन १३ प्रो खरिद गरेका थिए । आइफोन १३ प्रोको लागि मात्र उनले झण्डै २० लाख रुपैयाँ खर्चिएका थिए । यसरी अथाह सामान ल्याएका मन्त्री विमानस्थल भन्सार कार्यालयमा रोकिएनन् ।

मन्त्री आलेले भन्सार छलेर अथाह सामान लिएर आइसक्दा पनि भन्सार कार्यालय भने सबैलाई उही नियम लागू हुने जनाउँछ ।

\विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई भीआईपीको पनि अरू सामान्य आगन्तुकसरह नै उही प्रक्रियाबाट चेकजाँच हुने बताउँछन् ।

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनीति रोचक विज्ञान प्रविधि समाचार समाज