कृषिका लागि सहुलियतमा आएको युरिया मल प्लाइउड टाँस्न प्रयोग, किसान भने मल नभएर दुखी

काठमाडौं । मुलुकको कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको आशङ्का गरिएको छ ।

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा मुलुकका झण्डै ८० को सङ्ख्यामा रहेका प्लाइउड उद्योगले टाँस्ने प्रयोजनका लागि त्यस्तो मल प्रयोग भइरहेको जानकारी दिइयो ।

समितिमा वीरगञ्जको सुक्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल रुपमा रहेको करिब डेढ लाख बोरा रसायनिक मलको सही सदुपयोग र व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सरोकारवालासँग अन्तक्र्रिया गर्ने क्रममा उक्त विषय बाहिर आएको हो ।

मुलुकमा कृषिका लागि सरकारी माध्यमबाट वार्षिकरुपमा करिब पाँच लाख टन मल आयात गरिँदै आएको छ । त्यसरी आयात गरिएको डिएपी र युरिया मलमध्ये युरियाको करिब १० प्रतिशत मल प्लाइउड कारखानाका लागि खपत हुने गरेको आशङ्का गरिएको छ ।

ती उद्योगले स्थापनाका लागि स्वीकृत लिने क्रममा रेजिन नामक रसायनिक प्रयोग गर्ने भने पनि अधिकांशले युरिया मल नै प्रयोग गर्ने गरेको पाइएको छ ।

सरकारले रसायनिक मलमा प्रतिकिलो ७४ रुपैयाँसम्म किसानलाई सहुलियत प्रदान गर्दै आएको छ । मुलुकमा प्राय बालीनालीका लागि समयमा मल अभाव हुँदैआएको छ ।

किसानका लागि ठूलो अनुदान छुटमा ल्याइएको मल व्यापारिक प्रयोजनका लागि उद्योगमा प्रयोग गरिनुले सहुलियत दुरुपयोग भएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय जगतमा रसायनिक मलको मूल्य निकै बढेको छ । कच्चा पदार्थको अभावमा मूल्य बढेकाले मल ल्याउन पनि निकै चुनौती रहेको कृषि तथा पशुपन्छी मन्त्रालय, साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री संस्थानले जनाएको छ ।

अर्थ कृषि समाचार प्रदेश समाचार मुख्य समाचार राजनीति