किसानले उत्पादन गरेको कोदो सहकारी मार्फत खरिद

२९ मंसिर , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं.४ कालिखोलामा रहेको अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले किसानले उत्पादन गरेको कोदो खरिद गर्न शुरु गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको उपस्थितिमा कृषकहरुबाट उत्पादित कोदो खरिदको कार्य शुरूवात गरिएको छ । प्रति केजी रु ४८ का दरले हिजो मात्रै २५०० केजी कोदो खरिद भएको गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष श्री दिलबहादुर योञ्जन, ४ नं. वडाका वडाध्यक्ष रामप्रसाद तिमल्सीना, कृषि शाखा प्रमुख श्री चन्द्रकान्त चौधरी, सहकारीका पदाधिकारी, शेयर सदस्यहरु र कोदो बिक्री गर्ने कृषकहरुको उपस्थिति रहेको थियो ।

मकवानपुरगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम तर्फ खाद्यान्न खरिद बिक्री प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत कोदो खरिद कार्यको शुरुवात गरेको हो । सहकारी मार्फत बिक्री गर्दा कृषकले प्रति केजी थप २ रुपैया र व्यवस्थापन खर्च वापत सहकारीले २ रुपैया प्रोत्साहन अनुदान गाउँपालिकाबाट उपलब्ध हुने व्यवस्था रहेको छ ।

कृषि समाचार प्रदेश समाचार मुख्य समाचार स्थानीय