स्वदेशी माछा दानाले बजार पाएन

काठमाडौं । स्वदेशमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिए ।

नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उहाँको भनाइ छ ।

दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत १ करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरी रु १८ करोडको लगानीमा निर्माण गरिएको हो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले जानकारी दिए ।

अन्तराष्ट्रिय अर्थ प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज