स्वरोजगार बनाउन मकवानपुरगढीका युवातीहरुलाई ब्यूटिसियन तालिम

२३ पौष , मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई हेटौंडामा तीन महिने ब्यूटिसियन तालिम दिन शुरु गरिएको छ ।

विगतमा पशुपन्क्षी पालनमा तालिम दिँदै आइरहेको गाउँपालिकाले युवतीहरुलाई स्वरोजगार बनाउन तालिम प्रदान गर्न लागेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बिहीवार गाउँपालिकाभित्रका २० जना युवतीहरुलाई दिन लागिएको तालिमको उद्घाटन गर्नुभएको छ । गाउँपालिकाको लघु उद्यम विकास शाखाले हेटौंडा–१ पिपलबोटमा रहेको आश्विनी ब्यूटिपार्लर तथा ट्रेनिङ सेन्टरमा तालिम सुरुवात गरेको हो । दैनिक ४ घण्टा तालिम हुने जनाइएको छ ।

तालिम उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष रुम्बाले महिलाहरुले गाई, भैंसी, बाख्रा मात्रै पाल्ने नभई ब्यूटिसियन सिकेर रोजगारीको अबसर र स्वरोजगार बन्नु पर्नेमा जोड दिनु भएको छ । ‘महिलाहरुलाई पढाइ मात्र हैन, सीप पनि धेरै आवश्यक छ । विदेशमा सीप नसिकेका महिलाहरुले दुख पाइरहेको हामीले देखेकै छौं । विदेश नै जानु पर्ने भएपनि सीप सिकेर जाँदा दुःख पाइँदैन् ।’ उहाँले भन्नुभयो ‘सीप सिके विदेश जानै पर्दैन महिलालाई सीपले आफ्नै खुट्टा टेकेर आत्मनिर्भर बनाउँछ ।

भविष्य उज्यालो बनाउन सीप सिक्नुपर्ने उपाध्यक्ष रुम्बाको भनाई छ । ब्यूटिसियन सिकेपछि रोजगारी पाउनेदेखि स्वरोजगार बनाउने भएकाले राम्रोसँग तालिम लिन सहभागीलाई उहाँले आग्रह गर्नुभएको छ । तीन महिनासम्म दैनिक चारघण्टाका दरले तालिम दिएर सीप सिकाउने प्रयास गाउँपालिकाले गरेको कार्यालयका कर्मचारी प्रशासन शाखा प्रमुख तथा लघु उद्यम विकास शाखाका संयोजक सुर्यबहादुर गुरुङले बताउनु भयो । तालिमको मुख्य प्रशिक्षकमा इन्द्राकुमारी तामाङ र सहायक प्रशिक्षक सरस्वती स्याङतान रहनु भएको छ ।

रोचक समाचार समाज