आर्थिक स्थिति कमजोर परिवारलाई किरिया खर्च वापत कोभिड प्रतिकार्य समुहद्वारा आर्थिक सहयोग

२३ पौष ,मक्रान्चुली- आर्थिक स्थिति कमजोर रहेको एक परिवारलाई मृत्यु संस्कार ( किरिया ) खर्चका लागी मकवानपुरगढी- ३ को कोभिड नियन्त्रण प्रतिकार्य समूहका तर्फबाट रु. १० हजार सहयोग गरिएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्डाँडा निवासी स्वर्गीय थरिलाल न्यौपानेको आज तेर्हौं दिनको पुण्यतिथिका अवसरमा स्वर्गीय न्यौपानेकि धर्मपत्नी चित्रकुमारी न्यौपानेलाई सहयोग स्वरूप चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण गर्दै वडा नं ३ का वडाध्यक्ष तथा प्रतिकार्य समुहका अध्यक्ष भागवत घिमिरेले आर्थिक स्थिति कमजोर भएका कारण केही सहयोग पुगोस् भन्ने उदेश्यले समुहका तर्फबाट सहयोग गरिएको बताउनुभयो ।

प्रतिकार्य समुहले यस अघि पनि आर्थिक स्थिति कमजोर भएका तीन परिवारलाई मृत्यु संस्कारका लागि प्रती परिवार रु १० हजारका दरले सहयोग गरिएको पनि उहाँले बताउनु भएको छ । कोभिड १९ संक्रमण न्यूनीकरण तथा पिडित परिवारलाई सहयोग गर्ने उदेश्यले गत वर्ष ३ नं वडामा वडाध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा समूह गठन गरिएको थियो । स्थानीय सहयोगीदाता तथा देश विदेशमा बस्ने विभिन्न ब्यक्तिहरुबाट आर्थिक सहयोग प्राप्त भएको तथा समुहले ३ नं वडा मात्र नभै अन्य वडाका संक्रमित परिवारको घरमै पुगि औषधि , पोसिला खानेकुरा , खाद्यान्न लगायत आर्थिक सहयोग वितरण गरेको थियो ।

सहयोग हस्तान्तरण गर्ने क्रममा प्रतिकार्य समुहका निर्मला लम्साल , प्रेमप्रसाद दाहाल , अर्जुन दाहाल , भुवानीशंकर दाहाल , कृष्ण लामिछाने लगायतकाको उपस्थिति रहेकोे थियो ।

यसैगरि स्वर्गीय न्यौपानेको परिवारलाई मक्रान्डाँडा-धमिले टोलविकास संस्थाले पनि आर्थिक सहयोग गरेको छ । टोलमा मृत्यु राहत कोष स्थापना गरिएको र टोलविकास अन्तर्गत रहेका हरेक घरपरिवारबाट रु. दुईसयका दरले आर्थिक संकलन गरि न्यौपाने परिवारलाई रु १० हजार प्रदान गरिएको टोलविकास संस्थाका अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । साथै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिईने पनि लामिछानेले बताउनुभएको छ ।

समाचार