मनकामना दुग्ध सहकारी संस्थाको ३४ औं साधारणसभा सम्पन्न ,पुर्वब्यवस्थापक हुमागाँईलाई सम्मान सहित बिदाई

२७ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको ३४ औं वार्षिक साधारण सभा (आज) मंगलबार सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी मन्त्रालयका राज्यमन्त्री ईन्द्रमाया गुरुङको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष अर्जुनप्रसाद दहालको सभाध्यक्षतामा सभा भएको हो ।

सभामा बोल्दै प्रमुख अतिथि गुरुङले राज्यले दिने अनुदान ठुला किसानले मात्र पाउने गरेको तर आर्थिक कमजोर भएका किसानका लागि अनुदान दिनमा राज्यको नीति नै बाधक रहेकाले आफुले त्यस्तो नीति , कानुन नियम संशोधन गर्न पहल गर्ने बताउनुभयो । साथै उहाँले समयमै सुचना नपुग्नु तथा पहुँचका कारण पनि साना किसान सम्म अनुदान पुग्न नसकेको धारणा राख्नुभएको छ ।

दूध उत्पादन गरिरहेका किसानको हितको लागि प्रदेश सरकाले मन्त्री स्तरको बैठकबाट दुधको मूल्य प्रती लिटर १० रुपैयाँ वृद्धि गर्ने निर्णय गरि देशै भर लागू हुनेगरी दुधको मुल्य वृद्धि गर्न संघीय सरकार समक्ष अल्टिमेटम सहित माग गरिएको बताउनुभयो ।

सहकारीले ६ करोड ९९ लाख २४ हजार ९८८ रुपैयाँको दुध विक्री गरेको छ भने आफ्ना शेयर सदस्यलाई २ करोड ५० लाख ९८ हजार ४५६ रुपैयाँ कर्जा लगानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ । ३७३ जना शेयर सदस्य रहेको संस्थाको १३ लाख ७३ हजार ६ सय शेयरपुजीँ रहेको छ । संस्थामा बचत निक्षेप भने १ करोड ७३ लाख १४ हजार एक सय रहेको छ ।

साधारण सभाको अवसरमा संस्थामा ३४ वर्षसम्म संस्थाको ब्यवस्थापक भई सेवा निवृत्त हुनुभएका संस्थाका पुर्व ब्यवस्थापक बलराम हुमागाईलाई सम्मान गर्दै बिदाई गरिएको थियो । यसैगरी सहकारीले धेरै दुध विक्री गर्ने किसानलाई सम्मान गरेको छ । सबैभन्दा धेरै दुध विक्रीगर्ने ५ जनालाई दुधको क्यान पुरस्कार दिइएको छ । पुरस्कृत हुनेमा प्रथम प्रेमप्रसाद दहाल (३४,७८६.२ लि.), द्धितिय नरेन्द्र लम्साल (२४,४९२.३ लि.), तृतीय अर्जुनप्रसाद दहाल (२४२६७.३लि), चौथो उपेन्द्र प्रसाद दहाल(२०,००१.१ लि.) र जनजाति तर्फबाट बढी विक्री गर्ने सानुकान्छा वाईवा(१६९८९.७ लि.) रहेका छन् ।  सहकारीमा गुणस्तर दुध विक्री गर्ने अनिता सापकोटा, असल ऋणी राधिका अर्याल, बढी कारोबार गर्ने शुभद्रा बजगाई र मुकुन्द प्रसाद दहाल समेत पुरस्कृत भएका छन् । संस्थालाई नियमित एवम् सहज रुपमा पशुआहार उपलब्ध गराएको भन्दै संपदा स्टोर्सका प्रोपाईटर सन्तोष सापकोटालाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, सहकारीका पुर्व अध्यक्ष बद्रीप्रसाद लम्साल, संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दहाल, पूर्व अध्यक्षहरु कृष्णप्रसाद पोखरेल, अनिरुद्र दहाल, हरिप्रसाद अधिकारी , हिमाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानकि दहाल, श्रमिक सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, भानु माविका अध्यक्ष मानकुमारी पाख्रिन, गाउँपालिकाका पशु शाखा प्रमुख सत्यनारायण शाह, रानी सामूदायिक वन समूहका उपाध्यक्ष केशव धिताल , विभिन्न टोलविकास संस्थाका अध्यक्षहरु लगायतकाको आतिथ्यता रहेको थियो । 

समाचार समाज सहकारी