नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

काठमाडौं । नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाउन लागेको राससलाई जानकारी दिए ।

आज सहयोग सामग्री हवाईजहाज अफगानिस्तानको राजधानी काबुल जाने र विमानस्थलमा रहेको संयुक्त राष्ट्र सङ्घको कार्यालयका प्रतिनिधिमार्फत सामग्री हस्तान्तरण गरिने छ ।

सङ्घको समन्वयमा आवश्यकताअनुसार खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकँुडा नेपाली जनताका तर्फबाट आफगान जनतालाई पठाउन लागिएको हो । नेपालको इतिहासमा पहिलो पटक यसरी हवाईजहाजमार्फत मानवीय सामग्री लिएर अन्य राष्ट्रलाई सहयोग पठाउन लागेको मन्त्री खड्काले जानकारी दिए ।

र्राष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट यो एक महत्वपूर्ण मिसन र अभियान भएको बताउँदै उहाँले यस अभियानमा संयुक्त राष्ट्र सङ्घ, नेपालका उद्योगी, व्यापारी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उल्लेख गर्नुभयो । यस सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाउन लागिएको हो ।

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनीति