समूह छोडेका तीन मत्ता मात्तिने समय

काठमाडौं । समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् ।

हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउनुहुन्छ । मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन् । उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन् । ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन् ।

गत एक महिनायता गोविन्दे र ध्रुवेले एक–एक जनाको ज्यान लिइसकेका छन् । यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको सङ्गमस्थलतिर छ । गोविन्दे र रोनाल्डो पनि सौराहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन् ।

तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन । तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको तिवारी बताए ।

अशोक रामका अनुसार ५०० मिटरभित्र हात्ती छ भने त्यस क्षेत्रका रुखका हाँगा भाँचेका हुन्छन् । यस्तै ३०० मिटरभित्र हात्तीको शरीरको गन्ध आउँछ भने हात्तीले नार्रनुर्र गरेको आवाज र सय मिटरको दूरीमा हात्तीले सुँड बजारेको आवाज आउँछ ।

चितवनमा अहिले भइरहेका ती हात्तीमध्ये ध्रुवे रौतहटसम्म पुग्ने गर्दछ भने गोविन्दे र रोनाल्डो चितवन र पर्सा क्षेत्रमा घुम्ने गरेका छन् । ध्रुवे र रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान गरिएको छ । गोविन्दे भने यसै क्षेत्रमा समूहबाट छुट्टिएको हुनसक्ने रामको अनुमान छ ।

समूहमा बस्ने हात्ती नियमविपरीत काम गरेमा निष्कासित हुने गर्दछ । समूहबाट निकालिएपछि झनै अराजक हुने र मातेर जनधनको क्षति गर्ने गरेको रामले बताउनुभयो । वर्षको दुईपटक प्रजननको समयमा भाले हात्ती मात्तिने गर्दछन् ।

मुख्य समाचार समाज