सात दिन भित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई पर्यटन मन्त्रालयकाे निर्देशन

हेटौँडा/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म पनि रोयल्टी नबुझाउने पाँच क्यासिनोहरुलाई एक हप्ताभित्र रोयल्टी बुझाउन निर्देशन दिएको छ । मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै काठमाण्डौमा रहेका होटल याक एण्ड यति, ओरियन्टल होटल्स(र्‍याडिसन होटल), रक इन्टरनेशनल, ह्याप्पी आवर तथा सेन्ट्रल मिडिया प्रालीले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न र नगरेमा कारबाही गरिने चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६र०७७ सम्मको वक्यौता होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटलले १८ करोड ७६ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवर प्रालीले २१ करोड ५५ लाख रुपैयाँ तथा सेन्ट्रल मिडिया प्रालीले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

गएको कात्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले क्यासिनोहरुले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो ।

मुख्य समाचार समाचार समाज