कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको नवनिर्वाचित समितिलाई सपथ तथा प्रमाणपत्र वितरण

२५ माघ, मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ४ , कालिखोलामा रहेको कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको नवनिर्वाचित संचालक समिति तथा लेखा समितिलाई मंगलबार (आज) सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ ।

निर्वाचित समितिलाई निर्वाचन उप समितिका संयोजक गोविन्द प्रसाद तिमल्सिना (शर्मा ) ले सपथ ग्रहण गराएका थिए । संस्थाको निवर्तमान समितिको कार्यकाल समाप्त भएको भन्दै गत पौष २६ गते सम्पन्न संस्थाको २६ औं वार्षिक साधारणसभाले नयाँ संचालक समिति तथा लेखा समितिको निर्वाचन गराउनका लागि स्थानीय सहकारीकर्मी एवम् संचारकर्मी गोविन्द प्रसाद तिमल्सिनाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उप समिति गठन गरेको थियो । सो उप समितिको सदस्यमा वडा नं ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानकी दाहाल र वडा नं ४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शारदा तिमल्सिना रहनु भएको थियो ।

९ सदस्यीय संचालक समितिको अध्यक्ष , उपाध्यक्ष सहित सबै पदहरुमा सर्वसम्मत चयन गरिएको छ । समितिको अध्यक्षमा बिक्रम योन्जन, उपाध्यक्षमा सुर्य बहादुर पाख्रीन चयन हुनु भएको छ भने सदस्यहरूमा सिताराम न्यौपाने , प्रमिला योन्जन , खिल प्रसाद चौलागाईं ,अमृता योन्जन तामाङ , निरमाया योन्जन , हरिशरण दाहाल र मान सरोवर चौलागाईं सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै ३ सदस्यीय लेखा समितिको संयोजकमा देवनारायण लामिछाने तथा सदस्यहरूमा भिम बहादुर पाख्रीन र कृष्ण बहादुर बिडारी पनि सर्वसम्मत चयन हुनुभएको छ ।

संस्थाको सभाहलमा सम्पन्न सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा ४ नं वडाका वडाध्यक्ष राम प्रसाद तिमल्सिना , मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार खिल प्रसाद चौलागाईं , संस्थाका निवर्तमान अध्यक्ष अर्जुन प्रसाद सापकोटा , नवनिर्वाचित संचालक समितिका अध्यक्ष विक्रम योन्जन , लेखा समितिका संयोजक देवनारायण लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वक्ताहरुले निवर्तमान कार्यसमितिको कार्यकालमा संस्थाले सकारात्मक गति लिएकोमा प्रशंसा गर्दै त्यसलाई अघि बढाउन नवनिर्वाचित समिति सक्षम हुने अपेक्षा सहित बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

मुख्य समाचार समाचार समाज सहकारी स्थानीय