विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने

हेटौँडा/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले ड्युटीमा खटिने प्रहरीलाई ड्युटी समयमा मोबाइल बोक्न निषेध गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले विमानस्थलको सुरक्षा, ड्युटी समयमा अनावश्यक मोबाइलको प्रयोग तथा अनावश्यक फोन कलले कर्मचारीको काममा पर्ने असरलाई मध्येनजर गर्दै यो नियम लागू गरिएको जानकारी दिए।

अत्यावश्यक परेको खण्डमा आफ्नो कमान्डरमार्फत फोनको सुविधा मिलाएका छौँ। होइन भने ड्युटी समयमा कुनै पनि कर्मचारीले फोन बोक्न पाउँदैनु, प्रमुख ढकालले  भने, यो नियम करिब २ साता अघिबाट सुरु भएको हो।

केही समयअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले पनि त्यहाँ कार्यरत कर्मचारीलाई कामको समयमा मोबाइल फोन चलाउन रोक लगाएको थियो। विभागले एक सूचना जारी गर्दै आफ्ना कर्मचारीले सेवा प्रदान गर्ने क्रममा मोबाइल चलाउन मात्र नभई साथमा नराख्न पनि निर्देशन दिएको थियो।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज