वाग्मती प्रदेशमा फागुन अन्तिम साताबाट प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आयोजना गरिदै

हेटौँडा/ वाग्मती प्रदेश सरकारले फागुन अन्तिम साताबाट प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा खेल समावेश हुने प्रदेश खेलकुद विकास परिषद्ले हेटौंडाले जनाएको छ । प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराते, एथ्लेटिक्स, बक्सिङ र व्याड्मिन्टन खेललाई प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन हेटौंडा र समापन चितवनमा हुने गरी तयारी अगाडि बढाइएको भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा करिब ८ करोड ४ लाख रुपैयाँ खर्च अनुमान परिषद्ले गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी पालिका र जिल्लास्तरीय प्रतियोगिताबाट गरिनेछ । ‘११९ वटै स्थानीय तहबाट छनौट भएका खेलाडीले जिल्ला प्रतिस्पर्धामा सहभागी भएर प्रदेशमा मेडलका लागि खेल्दैछन ।

प्रतियोगितामा खेलाडी, अफिसियल र प्रशिक्षक गरी करिब ३ हजार जना सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगितालाई व्यवस्थित गर्न मूल आयोजक समिति र ६ वटा उपसमिति गठन गरिएको छ । खेलाडी छनौट गर्न प्रत्येक जिल्ला खेलकुद विकास समितिलाई जिम्मेवारी दिइएको छ । फागुन २० गतेभित्रमा जिल्ला छनौट सम्पन्न गर्न परिषद्ले पत्राचार गरिसकेको छ । पालिका तहबाट छनौट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराएर प्रदेशमा अन्तिम प्रतिस्पर्धाका लागि ल्याउन परिषद्ले जिल्लालाई पत्राचार गरेको हो ।

प्रतियोगिता वर्षेनी आयोजना गर्ने तयारी परिषद्को छ । तीन वर्षदेखि प्रतियोगिता आयोजना गरिने भनिएपनि कोरोना भाइरसको संक्रमण बढेसँगै प्रतियोगिता स्थगित गरिएको हो ।

 

खेलकुद मुख्य समाचार समाचार समाज