फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग उद्घाटन

हेटौँडा/ सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग  उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) का नेता झलनाथ खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले विमानस्थल सञ्चालनमा आएपछि इलामको पर्यटकीय गतिविधि बढ्ने धारणा राखे । ‘यो विमानस्थल चाँडै सम्पन्न हुनुपर्ने भए पनि यसअघिको सरकारका कारण ढिलो भएको हो,’ पूर्वप्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै खनालले भने, ‘तत्कालीन प्रधानमन्त्रीले निरंकुश शासन शैली अपनाएका कारण समस्या भएको हो ।’ मन्त्री आलेले विमानस्थलका लागि आवश्यक थप संरचना निर्माणमा आउँदो बजेटमार्फत नै पर्याप्त व्यवस्था गर्न निर्देशन दिए ।

विमानस्थलको धावनमार्ग कालोपत्र निमार्णको काम सम्पन्न भएपछि राष्ट्रिय ध्वजावाहक विमानले गएको माघ २६ मा परीक्षण उडान गरेका थियो । नेपाल वायु सेवा निगमको ९ एन एबीटी विमान बिहान काठमाडौं ८ बजेर ४५ मिनेटमा उडेर ९ बजेर ३५ मिनेटमा इलाममा अवतरण भएको हो । ५० मिनेटको समयमा विमान काठमाडौंबाट इलाम आएको थियो । विमानमा प्रमुख क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्षित मल्लसहित १६ जना सवार थिए । यसअघि तारा एयरको विमानले कच्ची धावनमार्गमा गत २०७५ जेठमा पहिलो पटक सफल परीक्षण गरेको थियो । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा खनालले नै गरेका गिए ।

२०५८ सालमा विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । इलाम–९ सुकिलुम्बामा एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल निर्माण गरिएको हो । इलाम नगरपालिकाले यही फागुन ८ देखि सातामा एउटा उडान गर्ने गरी ३ महिनाका लागि हवाई सेवा सुरु गर्न तारा एयरसँग सम्झौता गरिसकेको छ । निगमलगायत अन्य कम्पनीले चासो नदेखाएको भन्दै इलाम नगरपालिकाले यात्रु नभए पनि सिटको भाडा तिर्ने गरी तारा एयरसँग तीन महिनाका लागि सम्झौता गरेको हो । परीक्षणकै लागि गएको बुधबार तारा एयरका प्रमुखसहित होटल एसोसिएसन, टुर एन्ड ट्राभललगायत प्रतिनिधि परीक्षणका लागि आउने कार्यक्रम थियो । तर मन्त्रालयले सुरक्षाका कारण देखाउँदै उडान अनुमति नदिएको भन्दै यो कार्यक्रम स्थगन गरिएको थियो । यसअघि तारा एयरसँग नगरपालिकाले गरेको सम्झौताअनुसार प्रतिटिकट ८ हजार ४ सय भाडादर तोकिएको छ ।

 

पर्यटन प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय