आफ्नै घर बनाउन असफल बागमती प्रदेश सरकार

हेटौँडा/ बागमती प्रदेश सरकार स्थापना भएको ४ वर्ष पूरा भइरहँदा प्रदेश सरकारले आफ्नो लागि स्थायी घरसमेत बनाउन सकेको छैन। भवन निर्माण गर्नका लागि पहिले र अहिलेको सरकारले सक्रियता देखाएपनि भवन कहाँ निर्माण गर्ने भन्ने अन्यौलता अझै कायम रहेको छ ।

प्रदेशको मुख्यमन्त्री कार्यालय मात्र होइन । प्रदेशका सबै मन्त्रालयहरु आफ्ना भवनहरु निर्माण गर्न सकेका छैनन् । सबै मन्त्रालय साघुरा पहिलेका जिल्ला स्तरका कार्यालयमा बसेर काम गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ चौकिटोल ओरालोमा पहिले श्रम कार्यालयका लागि निर्माण गरिएको भवनमा पाँच वटा भन्त्रालय राखिएको छ । साघुरो भवनमा पाँच वटा मन्त्रालय राख्दा धेरै साघुरो भएको र अन्यत्र भवन पनि नपाएको कर्मचारीहरु बताउँछन् ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पहिला जिल्ला विकास समितिको भवनबाट सञ्चालन हुँदै आएको छ। मन्त्रालय विभाजन र मन्त्री नियुक्तिमा सक्रिय देखिएको प्रदेश सरकार आफ्नै भौतिक संरचना निर्माणमा भने निष्क्रिय देखिएको छ।

आफ्नै भवनको अभावमा प्रदेश सरकारको ५ वटा मन्त्रालय एउटै भवनबाट सञ्चालन गरेको यतीका समय वित्दा समेत भाडाको भवनमा समेत मन्त्रालयहरु सार्न नसकेको प्रदेश सरकारले आफ्ना भवन कहिले निर्माण गरिसक्ने भन्ने अन्यौलता कायम रहेको छ । भवन निर्माणका लागि प्रदेश सरकारले जग्गाको खोजी गरिरहेको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल बताउनुहुन्छ ।

केहि मन्त्रालय भाडाको घरबाट सञ्चालन भइरहेको अवस्था छ। त्यस्तैगरी, प्रदेश सरकारअन्तर्गतको अधिकांश कार्यालयहरू समेत भाडाको घरबाट नै सञ्चालन भइरहेको अवस्था छ। जसले गर्दा प्रदेश सरकारले बर्सेनि करोडौं रुपैयाँ भाडा तिर्नलाई मात्रै खर्चंदै आएको छ। वर्षेनी प्रदेशमा कयौं बाटो र पुल निर्माण गर्न सफल भएको प्रदेश सरकार आफ्नै लागि स्थायी घर बनाउन भने असफल देखिएको हो।

पछिल्लो समय बनेको गठबन्धन नेतृत्वको प्रदेश सरकारले भने प्रदेश सरकारको लागि स्थायी संरचना निर्माणको लागि जग्गा खोज्न थालेको छ। सरकार स्थापना भएको ४ वर्षपछि प्रदेश सरकारको लागि स्थायी संरचना बनाउन आवश्यक जग्गा खोजी कार्यको सुरुवात भएको मन्त्रीहरु बताउँछन् ।

मुख्य समाचार राजनीति समाचार समाज