बिहीबारदेखि दल दर्ताका लागि आयोगको आह्वान

हेटौँडा/ निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

आयोगमा अहिलेसम्म १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो ।
निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइ खुलाउनुपर्ने आयोगले जनाएको छ ।

त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि खुलाउनुपर्नेछ । साथै यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्ट अर्को निर्वाचन चिन्ह लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा निर्वाचन चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्नेछ ।

आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्ने आयोगले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज